अर्थमन्त्री डा. प्रकाशशरण महतले १ सय ६७ वस्तुहरुमा भ्याट लगाउने घोषणा गरेका थिए । अब यस्ता वस्तु खरिद गर्दा पनि उपभोक्ताले थप १३ प्रतिशत कर तिर्नुपर्ने छ ।
यसरी आधारभूत कृषि उत्पादनमा भ्याट लागु भएपछि ती वस्तुहरु न्यूनतम् १३ प्रतिशतले महँगो हुनेछन् । भ्याट लाग्ने वस्तुको मूल्य तत्कालै १३ प्रतिशतले बढ्ने चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले बताए ।
‘दीर्घकालमा भ्याटमा दर्ता भएका कम्पनीहरुले कर फिर्ताको प्राप्त गर्ने हुँदा लागत कम परेर मूल्य कम हुन सक्छ । तर, तत्कालका लागि मूल्य बढ्ने नै हो’ उनले भने ।
५० लाखसम्मको कारोबार गर्नेहरु भ्याटमा जानु नपर्ने भएकाले यो व्यवस्थाले नेपालका साना किसानलाई फाइदा हुने उनले बताए । यस्तै भ्याटमा दर्ता हुनु नपर्ने साना व्यवसायीले गर्ने कारोबारमा पनि भ्याट नलाग्ने उनको भनाइ छ । ‘यसले आयात हुने वस्तु सबैमा भ्याट लाग्छ, त्यसो हुँदा नेपाली उत्पादन सस्तो पर्न जान्छ । तर, ५० लाखमाथि कारोबार गर्ने किसान वा कम्पनीहरुले भने भ्याट तिर्नुपर्छ’ उनले भने ।
यसअघि भ्याट छुट दिइएका कृषिमा प्रयोग हुने सेमी ट्रेलर र ट्याक्टरमा पनि भ्याट लगाइको छ । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने गरी बनाइएको स्कुटर, कमोड चियर, फर्निचर र तिनका पार्टपूर्जाहरू, वाकरमा समेत भ्याट लाग्ने बनाइएको छ ।
हवाई यात्रामा भ्याट लगाइएकाले त्यो पनि महँगो हुन सक्नेछ । तर, हवाई कम्पनीहरु भ्याटमा दर्ता हुने भएकाले कर फिर्ता लिन पाउँछन् । ढुवानी साधनको भाडा र ढुवानी सेवामा पनि भ्याट लाग्नेछ ।
‘किसानले उत्पादन गरेको, साना व्यवसायीले बेचेको तरकारी फलफूलमा भ्याट लाग्दैन’
५० लाखभन्दा कम कारोबार भएका साना किसान तथा साना व्यवसायीलाई मूल्य अभिवृद्धि कर नलाग्ने भएकाले उनीहरुले बिक्री गर्ने तरकारी तथा फलफूलमा भने भ्याट तिर्नु नपर्ने एक कर विज्ञ बताउँछन् ।
तर, किसानले उत्पादन गरेको तरकारी भ्याटमा दर्ता भएको होलसेलर वा बिचौलियाबाट साना व्यवसायीले किनेका रहेछन् भने उनीहरुलाई भ्याट सहितको मूल्य पर्ने उनको भनाइ छ । ‘होलसेलर भ्याटमा दर्ता भएको रहेछ भने उसले किराना पसलेलाई फलफूल तरकारी बेच्दा भ्याट पनि जोडिएको हुन्छ, त्यसो हुँदा किराना पसलेलाई महँगो परेपछि उपभोक्तालाई पनि पर्ने नै भयो’ उनले भने ।
इन्फोग्राफिक्समा हेर्नुस्ः




