काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै “नेक्सस”लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन् । दोषी छुट्ने छैनन्’, उनले भने । श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गर्नुभएको थियो ।
अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ थियो । ‘यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको संगठित अपराध हो,’ उनले भने, ‘यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो ।
सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ । मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,’, मन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोष नपरुन् भन्ने छ सबैको कुरा ।
उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईँहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु ।