Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“आज आमाको मुख हेर्ने दिन”मातातीर्थमा मेला चन्द्रागिरिमा सार्वजनिक विदा”यस्ता छन् मातातीर्थका रोचक किंवदन्ती”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ७ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ ।

बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन। तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ । 

मातातीर्थमा मेला, चन्द्रागिरिमा सार्वजनिक विदा

यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीका दिन काठमाडौंको मातातीर्थमा मेला लागेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ । मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ । सो मूर्तिले मातातीर्थको आकर्षण झन् बढाएको छ ।

आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन बढेको छ ।

यस्ता छन् मातातीर्थका रोचक किंवदन्ती

काठमाडौं । आज आमाको मुख हेर्ने दिन, जन्मदाता आमालाई सम्मान व्यक्त गर्दै यो पर्व मनाइँदैछ । वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वलाई आमा खुवाउने औंसी, मातातीर्थ औंसी वा मातृ दिवस पनि भनिन्छ । यस दिन काठमाडौंको चन्द्रागिरि नगरपालिकामा अवस्थित मातातीर्थमा ठूलो मेला लाग्दछ । आमा नभएकाहरु मातातीर्थमा गएर स्नान गरी तर्पण दिने गर्दछन् । मातातीर्थको बारेमा विभिन्न रोचक किंवदन्तीहरु छन् । तीमध्ये दुई किंवदन्ती यहाँ उल्लेख गरिएको छ ।

किंवदन्ती–१

धेरै वर्ष पहिले काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके । तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ।

कथा अनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औंसी थियो ।

दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई ‘मातातीर्थ’ नामकरण गरियो । यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।

किंवदन्ती–२

भगवान् विष्णुका सातौं अवतार भनिने मर्यादा पुरुषोत्तम राम वनवासका क्रममा घुम्दै मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाका बीच घनघोर युद्ध भयो ।

त्यहीबेला रामकी पत्नी सीतालाई प्यास लाग्यो । पानी खोज्दा कतै नभेटिएकाले रामले गंगामाताको स्तुति गरे । तीनपटक ‘माता गंगासमो तीर्थ पिता पुष्करमेव चः भन्ने मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो ।

त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाइन् । ब्रह्माण्डको दर्शन गर्दा उनको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो ।

त्यतिबेला त्यहाँ घना जंगल थियो । एकपटक गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाँदै थिए । संयोगवश एउटा गोठालो मुखमा रोटी नपर्दै कुण्ड भएतिर मात्र के गएको थियो उसले कुण्डभित्र आफ्नी आमाको दर्शन पायो । घर फर्कने बेलामा गोठालाले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा गरेकाले आमाले छोरालाई भनिन्, ‘अहिले तिमी हामीसित जान मिल्दैन । बरु मेरो दर्शन गर्न प्रत्येक वैशाख औंसीको दिन आउनू ।

आमा गुमाएका सन्तानले यही कुण्डमा आफ्नी आमाको आकृति देख्न सक्छन् भन्ने जानकारी दिएर आमाले गोठालो छोरालाई फकाई फुल्याई बिदा गरिन् । त्यति बेलैदेखि हरेक वर्ष त्यहाँ मेला लाग्न थालेको किंवदन्ती छ । आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम ‘मातातीर्थ’ रहन गयो । त्यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आत्माले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास रहीआएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४