काठमाडौं । नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ ।
शनिबार भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेको एक पदाधिकारीले बताएका छन् ।
बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनमा पनि बारा–२ मा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन । नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।
उपनिर्वाचन हुने चितवन–२ र तनहुँ–१ मा भने नेपाली कांग्रेसले सोमबार उम्मेदवार तय गर्ने एक पदाधिकारीले बताएका छन् । चितवन–२ मा यसअघि नेपाली कांग्रेसका उमेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका थिए भने तनहुँ–१ मा नेपाली कांग्रेसबाटै बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।