Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘तपाईंको सरकार छ, भोकले कोही मर्नुपर्दैन’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १५ २०७६
  • 4K
    SHARES

बागलुङ / कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेका मजदूर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् ।
हुँदा खाने वर्गको पक्षमा स्थानीय सरकारको अनुभूति दिलाउन लगत सङ्कलन गरी खाद्यान्नको जोहो गर्न स्थानीय तहले सक्रियता बढाएका छन् ।
बागलुङ, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाले मजदूर र विपन्न नागरिक भोकै बस्न नपरोस् भन्दै भोजनको व्यवस्थासंँगै खाद्यान्न उपलब्ध गराउने कार्यक्रम ल्याएका छन् ।
‘लकडाउनमा काम गर्न नपाएर कोही भोकै मर्नु पर्दैन’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भन्नुभयो ‘ढुक्क हुनुहोस्, भोक र दुःखमा साथ दिने तपाईंको सरकार छ ।’ ‘महामारीको रोकथामका लागि भरहेको प्रयासमा हातेमालो गर्ने जुनसुकै नागरिकलाई पर्ने असजिलोमा सारथी बन्नु स्थानीय सरकारको दायित्व हो’ पौडेलले भने ।
जैमिनी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका र अति विपन्न परिवारलाई बिहानबेलुकीको छाक नटरे वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । वडा अध्यक्षले उनीहरुको अवस्था पहिचान गरी नगरपालिकाका तर्फबाट दैनिक खर्च चलाउन नगद तथा खाद्यान्न उपलब्ध गराउने नगरप्रमुख पौडेलले बताए ।
बागलुङ नगरपालिकाले बेसहारा नागरिकलाई दिवा खानाको व्यवस्था गर्ने भएको छ । लकडाउनका कारण रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकाहरुलाई शनिबारदेखि दिवा खाना खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
तिरुपती बालाजीधाम शालिग्राम संग्रहालयको व्यवस्थापनमा धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा गरीब र अति विपन्नलाई दिवा खाना खुवाइने छ ।
नगरपालिकाले घनाबस्ती भएको बजारमा कीटाणु मार्ने औषधि पनि छर्किन शुरु गरिसकेको छ ।
नगरपालिकाले कोरोना रोकथामका लागि १५ लाखको राहत तथा उद्दार कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।
लकडाउन लम्बिँदै गर्दा अलपत्र १४ मजदूरलाई उद्योग वाणिज्य संघ बागलुङले निःशुल्क खाना खाने व्यवस्था गर्ने भएको छ । सङ्घले उनीहरुलाई तत्कालका लागि खानका लागि खाद्यान्न जोहो गराउने महासचिव नरेश कँडेलले बताए ।
बागुलङ नगर खानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदूर जाजरकोटका हुन् । उनीहरुले घरजाने वा खानेबस्ने व्यवस्थापन मिलाइदिन आयोजनासंँग आग्रह गरेका छन् । जयमाता कन्काइ जेभी निर्माण कम्पनीका साइट इन्चार्ज गौतम भुसालले भने उनीहरुलाई खानेबस्ने व्यवस्था मिलाइने बताए ।
लकडाउनका समयमा खाद्यान्न उपलब्ध गराउने घोषणा गरेको काठेखोला गाउँपालिकाले वडा तहबाट लगत सङ्कलनको काम सकेको छ । गाउँपालिकाका आठवटै वडामा रहेका विपन्न र मजदूरको लगत संकलन भइसकेकाले राहत वितरणको काम अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए ।
गाउँपालिकाले अति विपन्न र छाक टार्नै मुश्किल भएका २० भन्दा बढी नहुने गरी प्रत्येक वडामा एक बोरा चामल र तीन किलोग्राम दाल दिने विधि बनाएको छ ।
जनसङ्ख्या धेरै भएका वडामा भने तीस जनासम्मले सामग्री पाउने छन् । वडा नं २ भीमापोखराका १३ परिवारलाई सामग्री वितरण गरिसकिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

नेताहरु पढ्दै, समाचार सुन्दै
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर सञ्चालन गरेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान कोरोना भाइरसका कारण रोकिएको छ ।
पार्टी अभियानसंँगै कोरोना भाइरसबारे सचेतना चलाएको थियो तर त्यो अभियान अहिले रोकिएको छ । अभियान लिएर गाउँगाउँमा पुगेका नेताहरु अहिले घरमै बसेर लकडाउनको पालना गरिरहेका छन् ।
‘देश लकडाउन गएपछि त्यसको कार्यान्वयन गर्नैपर्छ’, बानपा–१२ अमलाचौरको घरमा दिन बिताइहनुभएका संघीय सांसद डा सूर्य पाठकले भने, ‘कोरोना भाइरसविरुद्धको युद्ध जित्न अनुशासनमा बस्नुपर्छ । कोरोनाबारे देशविदेशमा भइरहेका गतिविधि नियाल्ने र समाचार फलो गर्ने काम भइरहेको छ ।’
सांसद पाठकले कोरोना भाइरसको विरुद्व लड्न सरकारले स्थापना गरेको ‘राहत कोष’मा एक महिनाको तलब उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौर घर भएका सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको ध्यान ‘म्याग्दीको इतिहास’ सम्बन्धी पुस्तकमा केन्द्रित छ ।
‘पुस्तक अध्ययनसंँगै टिभी हेर्ने र कोरोनासम्बन्धी जिल्लामा के भइरहेको छ भन्नेबारे समाचारमा अपडेट हुने काम भएको छ’, सांसद थापाले भन्नुभयो । कोरोना संक्रमण भित्रन नदिन हरेक नागरिक संयमित भएर लकडाउनको आदेशलाई पालना गर्नुपर्ने थापाको सुझाव छ ।
अर्का सांसद पर्वतका पदम गिरीको दिनचर्या पनि पुस्तक अध्ययन, कोरोना भाइरससम्बन्धी समाचार अपडेट हरेर नै बित्ने गरेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङ्गस्थित घरमै रहेका सांसद गिरीले भने, ‘घरमै बसेर देशको अवस्था नियालिरहेको छु ।’
सरकारले गरेको निर्णय कार्यायन्वयन गराउने दायित्व पूरा गर्न आफू क्रियाशील रहेको सांसद गिरीको भनाइ छ । प्रतिनिधिसभा सांसद गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।
‘कार्यक्रम सहभागी हुने र साथीभाईसँग भेटघाट गरिरहेको बानी भुलाउन गाह्रो हुँदोरहेछ’, पोखरास्थित डेरामा रहनुभएका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले सरकारको निर्णय कार्यान्वयन गराउन सबैले दिनचर्यामा परिवर्तन गराउन जरुरी भएको बताए । ‘कोरोनासम्बन्धी समाचार सम्प्रेषण गर्ने, साथीहरुलाई सरसहयोग गर्ने र पुस्तक पढेर दिन बित्ने गरेको छ’, सापकोटाले भन्नुभयो । नेकपा बागलुङका जिल्ला अध्यक्ष सापकोटालाई लकडाउनले पोखरामा नै थुनेको छ ।
‘जहाँ बसेपनि बन्दी जीवन हो, त्यसैले पोखरामै छु’ नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेलले भन्नुभयोे, ‘अध्ययन गर्ने, समाचार अपडेट गरेर दिन बिताउने काम भएको छ ।’ नेकपा नेता चन्द्र बुढा सागर पोखरामा छन् । ‘होम क्वारेन्टाइनमा दिन बितेको छ’, गण्डकी प्रदेशसभा सदस्य बुढाले भन्नुभयो, ‘घाम ताप्ने र अध्ययन गर्ने त्यही त काम हो ।’ कांग्रेस सभासद् कोपिला बोहराले समाचार हेरेर दिन कटाएको प्रतिक्रिया दिनुभयो । ‘गाउँ आउने कार्यक्रम थियो लकडाउनले रोकियो’, पोखरामा रहेका राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभासद् कृष्ण थापाले भने, ‘परिवारसँग बसेर आफ्नो क्षेत्रका गुनासो सुन्ने काम गरिरहेको छु ।’ (रासस)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४