काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् ।
शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुको मत विभाजनको आधारमा भएको निर्वाचनमा पाठक विजयी हुनुभएको हो । पाठकले ६२ मत पाउनु भएको थियो भने विपक्षमा ३९ मत परेको थियो । ७ जना सांसद तटस्थ बसेका थिए । सभामुखका लागि पाठक सहित ३ जनाको उममेदवारी परेको थियो । जसमा अन्य २ जनामा नेपाली कांग्रेसका तर्फबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सयजुको उम्मेदवारी परेको थियो ।
११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना, एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।