Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस रूपान्तरणका सूत्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 1.8K
    SHARES

जनतामाझ जाने र संगठन विस्तार गर्ने भन्दा गणेश प्रवृत्तिले पुरस्कृत हुने शैली र संस्कारलाई नेतृत्वले संस्थागत गरेको छ। पार्टीको विचार र नीतिलाई जनतासामु पुर्‍याउने नेतृत्वलाई मात्र अवसरमा पहुँच सुनिश्चित गर्नुपर्छ।

मानिसले आँखाले देखेको भन्दा भिन्दै सोचेर सिर्जना गरेको पहिलो वस्तु के होला ? आजसम्म विज्ञानले पत्ता लगाएको आधारमा भन्दा करिब ४० हजार वर्ष पहिलेको नर-सिंह (लोवेनमेन्स)को मूर्ति हो जुन जर्मनीको गुफामा भेटिएको थियो। त्यसैका आधारमा मानवशास्त्रीहरूले मानिसको सिर्जना गर्ने तथा नदेखेको सोच्ने क्षमताको विकास करिब ३५-४० हजार वर्ष पहिलेबाट सुरु भएको मान्दछन्। सिर्जना गर्न सक्ने क्षमताको विकासक्रमसँगै मानिसहरूले स्वतन्त्रता चाहन्छन्। स्वतन्त्र समाज नै व्यापक रूपमा सामाजिक मुद्दाहरूको समस्या केलाउन सक्छ। यो नै परिश्रमी, सिर्जनशील एवं जोखिम मोल्न चाहने व्यक्तिहरूको प्रतिभा फक्रिने र समुदायलाई आर्थिक-सामाजिक रूपले नेतृत्व दिन सक्ने उपर्युक्त माध्यम हो।

स्वतन्त्र समाज (लोकतन्त्र)को अवधारणा ग्रिस र अरु सभ्यताहरूबाट सुरु भएता पनि अहिलेको पश्चिमा मोडेलको उदार लोकतन्त्र जम्मा २५० वर्ष पुरानो हो। अहिले भनिएका धेरै लोकतान्त्रिक व्यवस्थाहरू यही अवधारणा भित्र रहेर निर्माण गरिएका छन्। कांग्रेसले पनि २००७ सालदेखि पहल गरेको उदार लोकतान्त्रिक व्यवस्थाको मूल सैद्धान्तिक आधार पनि यही नै हो।

हरेक समाजलाई राजनीतिक रूपले प्रतिनिधित्व गर्ने एजेन्सीहरू हुन्छन् जसलाई हामी पार्टी भन्छौं र त्यो पार्टीलाई डोर्‍याउने नेता वा नेतृत्व हुन्छ। त्यस्तो एजेन्सी जनताको सही प्रतिनिधित्व हुन जनताका विभिन्न आकांक्षा सम्बोधन गर्नका लागि त्यसले निश्चित सिद्धान्त, विचार र नीति बोकेको हुन्छ। त्यही दर्शन, विचार बोकेर जनताको आकांक्षा सम्बोधन गरेको आधारमा समाजले त्यस्ता एजेन्सीहरूलाई राज्य सत्ताको बागडोर दिएका हुन्छन्। त्यसैले त्यस्ता एजेन्सीको नेतृत्वले कम्तीमा केही आधारभूत मान्यताहरू बुझ्नुपर्छ। जस्तो, पार्टी भनेको समाजसँग सहमति र विश्वासले चल्ने हो न कि जबरजस्ती लादिएको विचार र निर्णयबाट। विचार र दर्शन बोकेको पार्टी आफैं विकास गरिएको प्रणाली (विधान) अनुसार चल्नुपर्छ र विधानले नेतृत्व र पार्टीका स्वतन्त्र सदस्यहरूलाई समेत बाँधेको हुन्छ।

त्यस्तो पार्टी र विचारको बागडोर सम्हाल्ने नेतृत्वको साख एउटा आवधिक निर्वाचनमा कति मत ल्याइयो भन्ने आधारमा मात्र माथि उठ्दैन। समाजलाई दीर्घकालीन रूपमा पार्टीको दर्शन, नीति तथा कार्यक्रमले कति आकर्षण गर्‍यो ? जनता, कार्यकर्ता र नेता कति सक्षम र सबल भए ? उनीहरु स्वाभिमानपूर्वक कति क्रियाशील भए ? पार्टीको संगठन समग्र देशको आर्थिक, सामाजिक विकासका गतिविधिमा कति घुलन हुन सक्यो र समाजलाई समुन्नतिका लागि मार्ग दर्शन गर्न सक्यो या सकेन ? पार्टीको नेतृत्वले आफ्ना एजेण्डा र विचारलाई कसरी कार्यकर्ता र समाजसामु पुर्‍यायो ? त्यसैका आधारमा नेतृत्वले कस्तो संगठन र कस्ता कार्यकर्ता उत्पादन गर्न र पार्टीलाई कुन दिशातिर लैजान खोजेको हो भन्ने बुझिन्छ।

हेनरी किसिंजरका अनुसार समाजको बागडोर सम्हाल्ने राजनीतिमा नेतृत्व/नेताले दुईवटा अक्षहरूको संयोजन गर्नुपर्ने हुन्छ। एउटा विगतका अनुभव र भविष्यका संकल्पका सपनाबीचको अक्ष। अर्को, सभ्य समाजका स्थापित आधारभूत मान्यता र मतदाताहरूको लोकरिझ्याईंका आकांक्षाहरू बीचको अक्ष। यी अक्षहरूलाई संयोजन गरेर मात्र अन्तरज्ञानी नेतृत्वले समाजमा रहेका विभिन्न आयामको विश्लेषण गरी भविष्यको खाका कोर्न सक्छ।

नेपालमा पनि २०६२-६३ को आन्दोलनको बलमा २०७२ मा समावेशिता र संघीयता समेतको गणतान्त्रिक संविधान प्राप्त भयो। यससँगै विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेका व्यक्ति वा समूहबाट समाज रूपान्तरणको अर्थ-राजनीति र दिगो विकासको लय लिन दीर्घकालीन खाका बन्नेछ भन्ने मनोकांक्षा धेरैमा थियो। हरेक नेपालीको अझ ठूलो अपेक्षा त राजनीतिक रूपमा समाज स्थिर रहनेछ र मिहिनेत गरी आफूमा भएको सीप, जाँगर, सिर्जनशीलता र उद्यमशीलता प्रयोग गरी उज्यालो भविष्य बनाउन खोज्नेहरूलाई बढ्ने, फुल्ने र फक्रिने माहोल भएको समाज र देश बन्नेछ भन्ने थियो। तर त्यसको ठिक विपरीत संविधान प्राप्त भएका ८ वर्षमा नेपाली समाजमा विभिन्नखाले थप चुनौती देखा परेका छन् जसको दिगो सम्बोधन हुन नसक्दा नेपाली समाज झन् अधोगतितिर धकेलिने देखिन्छ।

पाली कांग्रेसको रूपान्तरणका लागि यसको नेतृत्वले अपनाएको कार्यशैली, प्रवृत्ति र गतिमा व्यापक सुधार गरेर जानुको विकल्प छैन। सत्ता र शक्ति जनताको आकांक्षा पूरा गर्न चाहिने माध्यम मात्र हो। समाज रूपान्तरणका लागि क्षमतावान नेतृत्व चाहिन्छ जोसँग असल र अद्यावधिक विचार, दिगो नीति, सुसंस्कृत संस्कार होस् र जटिल समस्यालाई समष्टिगत रूपमा सुल्झाउने क्षमता पनि राखोस् यदि साँच्चै अहिलेको संविधान दिगोरूपमा कार्यान्वयन गर्ने हो र राजनीतिक दल एवं नेतृत्वले सही मानेमा देश र जनताका लागि राजनीति गर्ने हो भने देशका सामु देखिएका आम जनताले भोगेका चुनौती समाधानका लागि संवेदनशील हुनैपर्छ। पुराना पात्रहरूको अनुभव अनुकरण गर्दै नयाँ प्रवृत्तिका साथ समाजका एजेन्सी अर्थात् राजनीतिक पार्टीहरू क्रियाशील हुन जरुरी छ।

परम्परादेखि नै लोकतान्त्रिक व्यवस्थामा राजनीति हावी हुन्छ र राजनीतिले नै आर्थिक, सामाजिक र वातावरणीय मुद्दाहरू समाधान गर्ने तन्त्रको रूपरेखा कोरेको हुन्छ। त्यसैले निर्वाचन पश्चात् अहिले राष्ट्रले भोगेका समस्याको राजनीतिक रूपले सम्बोधन हुनुपर्छ। त्यसका लागि अबको सरकार र संसदले जतिसक्दो समाधान गर्ने तन्त्रको ढाँचा कोर्ने बाटोमा हिंड्नुपर्नेछ। त्यस्तो प्रणालीको ढाँचा संविधान र उदार लोकतन्त्रको मर्म भन्दा बाहिर हुनुहुँदैन।

नेपालको लोकतान्त्रिक आन्दोलनको बीजारोपण गर्ने दल नेपाली कांग्रेस अहिले सबैभन्दा ठूलो दल भए पनि राजनीतिक कौशल र व्यवस्थापनको कमजोरीका कारण प्रतिपक्षमा छ। प्रतिपक्षमा रहँदै गर्दा आगामी दिनमा उदार लोकतन्त्रको आधार बलियो बनाउन यसको नेतृत्वले विचार, दर्शन, नीति, दल र पार्टीलाई कसरी अगाडि बढाउँछ भन्ने कुरा महत्वपूर्ण हुनेछ।

केही वर्षदेखि नेपाली कांग्रेसको वैचारिक र राजनीतिक यात्रालाई नियाल्दा यसको नेतृत्वप्रति आश्वस्त हुने ठाउँ कमै छ। बीपी भन्नुहुन्थ्यो- ‘हामीले आफ्नो सिद्धान्त त्यागेर कोहीसँग पनि सम्झौता गर्नुहुँदैन।’ यो कुरा अहिले पनि सान्दर्भिक छ। तर नेपाली कांग्रेसको नेतृत्वले पछिल्लो समय सत्ता र शक्तिको लागि आफ्नो विचार र दर्शनलाई कम प्राथमिकतामा राख्दै आयो। निर्वाचन जित्नका लागि विचार र दर्शन नमिल्ने अर्कै दलको निर्वाचन चिह्नमा मत दिने र दिन लगाउनेसम्मको निर्णय केन्द्रीय समितिबाटै गराउनुपर्ने अवस्था नेतृत्वले सिर्जना गरेको छ।

आफ्नो विचार र दर्शनको फ्रेमवर्कभित्र रहेर बनाइएको नीति, योजना र कार्यक्रमहरूलाई लागू गर्न आफ्नो एजेण्डा र संगठनको माध्यमबाट सत्तामा जान पहल गर्नुपर्ने हो। अर्काको बैसाखी चढेर सत्ता र शक्ति प्राप्त गर्ने कदापि लोकतन्त्रले देखाएको बाटो होइन। कांग्रेसको काँधमा नेपाली समाजले चाहेको उदार लोकतन्त्र र सामाजिक न्यायसहितको खुल्ला अर्थतन्त्रका जगहरूको बचाव र सुदृढीकरण गर्ने जिम्मेवारी छ। यो जिम्मेवारी पूरा गर्न कांग्रेसले संसद र आफ्नो दलभित्र नयाँ ऊर्जा भर्न शैली, लय र गतिमा रूपान्तरण सुनिश्चित गर्न सक्नुपर्छ।

कांग्रेसको अहिलेको शैली, लय र गतिमा बदलाव ल्याउनका लागि सबैभन्दा पहिले यसको विधानमा परिवर्तन गर्नुपर्नेछ। कम्युनिष्टहरूले लोकरिझ्याईंका उत्ताउला नारा पछ्याउँछन्। सबै नेपाली पञ्च सबै पञ्च नेपाली भन्ने अवधारणानुसार समाजका हरेक तहमा पार्टीका संगठन खोल्ने शैली कांग्रेसले आफ्नो विधानमा अनुसरण गरेको छ। तर अर्कोतर्फ पार्टीको आन्तरिक निर्वाचनमा अचाक्ली प्रतिस्पर्धात्मक बनाई वडासम्म ध्रुवीकरण गरेका छौं। यसले पार्टीभित्र सद्भाव भन्दा अन्तरद्वन्द्व बढाइरहेको छ। त्यसैले सांगठनिक संरचनाहरू निर्माण प्रक्रिया र त्यसको बनोटको पुनर्विचार गरी विधान संशोधन गर्नुपर्दछ।

वर्तमान संविधानको कार्यान्वयनका पाटाहरूमा भएका कमजोरी र गल्तीहरूलाई सुधार्नु अर्को महत्वपूर्ण कार्यभार हो। संविधानको मर्म विपरीत नहुने गरी नियमावली, कानुन लगायत कुरामा संशोधन गर्न पहिले पार्टीको विधानमा स्पष्ट व्यवस्था गर्नुपर्ने हुन्छ। आर्थिक सुशासनमा देखिएको निर्लज्जता, लोभलालचमा धर्म परिवर्तन, समावेशी एवं समानुपातिक प्रणाली कार्यान्वयनमा भएका बेतिथिलाई सुधार गर्ने गरी विधानमै किटानी गरेर जानुपर्दछ।

नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने कामलाई पनि कांग्रेसले प्राथमिकतामा राख्नुपर्छ। यसका लागि पार्टीले आर्थिक-सामाजिक दर्शनलाई अहिलेको प्रविधिले ल्याएको परिवर्तन, बसाइसराइ, शिक्षा-दीक्षा, राजनीतिक चेतना, उत्पादन र सेवा क्षेत्रमा देखिएका नयाँ नयाँ सिर्जना लगायतका परिवर्तित अवस्थासँग मेला खाने गरी ‘समाजवाद’ को अद्यावधिक व्याख्या गर्न जरुरी छ। समाजले भरोसा र ग्रहण गर्न सक्ने र त्यसका लागि आवश्यक साधन र स्रोतको हाम्रो नेतृत्वको क्षमताले परिचालन गर्न सक्ने नीति, कार्यक्रम र योजनाहरू जनतासामु पस्कनुपर्दछ।

२००५ सालमै बीपीले भन्नुभएको विषय यहाँ सम्झनु सान्दर्भिक हुनेछ। ‘नेपाली कांग्रेसलाई जनताको संस्था बनाउनका लागि हामीले जनताभित्रै काम गर्नुपर्छ। यो संस्था नेपाली जनताको हो कुनै अमूक नेताको होइन। नेपाली कांग्रेसले जबसम्म जनताको सहानुभूति र सद्भावना पाउन सक्दैन तबसम्म यो संस्थाले आफ्नो ध्येयका लागि आवश्यक शक्ति-संग्रह गर्न पनि सक्दैन।

जनता बलियो भए मात्र नेपाली कांग्रेस पनि बलियो हुन्छ। नेपाली कांग्रेसको शक्ति नै जनताको शक्तिको मापन पनि हो।’ जनता र नेपाली कांग्रेसबीचको यस्तो सम्बन्धलाई हामीले बुझ्नुपर्छ र नेपाली कांग्रेसको अध्यावधिक विचार र दर्शनबारे हामीले जनतालाई बुझाउन सक्नुपर्छ । नेपाली कांग्रेसले माओवादीको हिंसात्मक गतिविधि सुरु भएदेखि द्वन्द्वकालमा करिब दुई दशकसम्म गाउँबस्तीमा गएर पार्टीको नीति, विचार र दर्शन बारे व्यापक रूपमा प्रशिक्षण गरेको थिएन। परिमाणतः एउटा पुस्ताले कांग्रेसका बारेमा कम बुझेको छ।

भ्रातृ संस्थाहरूको लथालिंगको अवस्थाले गर्दा पनि नयाँ पुस्ताले कांग्रेसका बारेमा गहिरो रूपमा बुझ्न पाएको छैन। जनतामाझ जाने र संगठन विस्तार गर्ने भन्दा गणेश प्रवृत्तिले पुरस्कृत हुने शैली र संस्कारलाई नेतृत्वले संस्थागत गरेको छ। पार्टीको विचार र नीतिलाई जनतासामु पुर्‍याउने नेतृत्वलाई मात्र अवसरमा पहुँच सुनिश्चित गर्नुपर्छ। यसका लागि अहिलेको अभ्यासलाई नेतृत्वले परिवर्तन गरी ‘बटम-अप’ अवधारणालाई अंगीकार गर्नुपर्दछ। तब मात्र कांग्रेसजनहरू नेतामुखीबाट जनतामुखी बन्छन्। शहरी होस् या ग्रामीण नेपाली समाजले अहिले बजारसँग अन्योन्याश्रित सम्बन्ध गाँसेको छ। बजारका हरेक गतिविधिमा समाज अन्तरघुलन भएको छ।

मानिसको दिनचर्या बजार विना कल्पना गर्न नसकिने अवस्था छ। राजनीतिलाई स्वच्छ र मर्यादित बनाउनुका साथै राजनीतिमा लाग्ने वर्गलाई आत्मनिर्भर बनाउनुपर्छ। पार्टीले कोरा राजनीतिक विचारलाई मात्र आफ्ना नेता, कार्यकर्तामाझ पुर्‍याएर यो काम गर्न सकिन्न। पार्टीले कसरी आफ्नो मिहिनेत, सीप र सिर्जनशीलता एवं उद्यमशीलतालाई प्रयोग गरी कर्मठ र गरिखाने हुन सकिन्छ भन्ने ज्ञान र कला पनि सिकाउन जरुरी छ।

समग्रमा, नेपाली कांग्रेसको रूपान्तरणका लागि यसको नेतृत्वले अपनाएको कार्यशैली, प्रवृत्ति र गतिमा व्यापक सुधार गरेर जानुको विकल्प छैन। सत्ता र शक्ति जनताको आकांक्षा पूरा गर्न चाहिने माध्यम मात्र हो। समाज रूपान्तरणका लागि क्षमतावान नेतृत्व चाहिन्छ जोसँग असल र अद्यावधिक विचार, दिगो नीति, सुसंस्कृत संस्कार होस् र जटिल समस्यालाई समष्टिगत रूपमा सुल्झाउने क्षमता पनि राखोस्। त्यस्तो विचार, नीति र संस्कार विना सत्ता र शक्तिको दुरूपयोग धेरै लोकतान्त्रिक देशमा लोकतन्त्रको आवरण बोकेका नेतृत्वबाट गरिएको देखिएको छ। यस्तो अभ्यासबाट नेपाल पनि अछुतो छैन। त्यसैले नेपाली कांग्रेसका विभिन्न तहका नेतृत्व, कार्यकर्ता र शुभेच्छुकलाई चित्त बुझाउने गरी पार्टीको ‘चरित्र, चाल र चेहरा’को रूपान्तरण गर्नुपर्ने देखिन्छ। पार्टीको बस्न लागेको महत्वपूर्ण केन्द्रीय समितिको बैठकमा बहस गरी आगामी बाटो तय गर्ने र रूपान्तरणको अभियानलाई सार्थक बनाउने उपयुक्त अवसर खेर नफालौं।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४