काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आफ्नो एकसय दिनको कार्यकाल सफल भएको दावी गरेका छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेसम्म भएका कामको चर्चा गर्दै आगामी दिनको कार्यदिशाबारे पनि पत्रकारलाई जानकारी गराएका छन् । उनी मंसीर ५ गते मन्त्री भएका थिए ।
मन्त्री गुरुङले आफ्नो मन्त्रालयमा सुधारका धेरै कामहरु गरेको समेत भनेका छन् । समाजसँग जोडिएको मन्त्रालय भएकाले धेरै काम गर्नुपर्ने खाँचो रहेको समेत उनले बताएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि विभिन्न योजनाहरु ल्याउँदै गरेको समेत उनले जानकारी गराएका छन् । विभिन्न जिल्लामा पुगेर सम्बन्धित सरोकारवालासँग छलफल गरेको र त्यसबाट प्राप्त निष्कर्षलाई मन्त्रालयले ध्यानमा राख्दै आगामी योजनामा समेट्ने पनि उनले विश्वास दिलाएका छन् । सामाजिक कुरितीका रुपमा रहेको छाउपडी प्रथाको अन्त्यका लागि मन्त्रालय लागिपरेको उनको भनाई छ । सरकारले अघि सारेका योजनालाई कार्यान्वयन गर्न मन्त्रालयले कुनै पनि कञ्जुस्याई नगरेको भन्दै मन्त्री गुरुङले आफ्नो कार्यकाललाई राम्रो बनाउन सबैको सहयोग र सुझावको समेत अपेक्षा गरेका छन् । अझै पनि सडकमा बालबालिकाहरु वेवारिसे बनिरहेको जेष्ठ नागरिकहरु अलपत्र परिरहेको समाचार सार्वजनिक भइरहँदा स्वयं मन्त्रीले यसबारेमा कति काम गर्नुभयो र कतिलाई उद्धार गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा मन्त्री गुरुङले भने ‘सबै काम मन्त्रीले गर्ने होइन, मन्त्रालयको एउटा सिष्टम हुन्छ र त्यही संयन्त्रले काम गर्छ ।’ मन्त्री गुरुङले पत्रकारका सुझावलाई समेटेर मन्त्रालयले आगामी दिनमा योजना बनाउने समेत बताए । पहिलो पटक मन्त्री भएका गुरुङ संविधानसभाको २०७० र प्रतिनिधिसभाको २०७४ सालको निर्वाचनमा दोलखाबाट निर्वाचित सांसद बनेका हुन् ।