काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ मा शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनको केही क्षेत्रको मतगणना निर्वाचन आयोगले षाडयन्त्रपूर्वक ढंगले रोकिरहेको बताएको छ । उसले स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसमक्ष मागसमेत गरेको छ ।
मंगलवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ का उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ र बाजुराको मतगणन मतगणना शुरु गर्न आग्रह गरेको हो । कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेट गरी मतगणना शुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मतगणना कार्य शुरु गर्न आग्रह गरिएको बताएका छन् । उनले स्याङ्जा २ मा विधिवत रूपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको बताएका छन् । उनले आयोगले कसैको प्रभावमा नपरी तत्काल गणना सुरु गर्नुपर्ने बताएका छन् ।
निर्वाचनको समय अवधिभर कुनै पनि घटना नघटेको विवरण आउँदा आउँदै पनि आयोगले छानबिन समिति गठन गर्नु गलत भएको बताउँदै उनले बाँकी रहेका क्षेत्रमा तुरुन्त मतगणना गर्नुपर्ने बताएका छन् । पौडेलले भने, ‘स्याङ्जा क्षेत्र नं. २ को मतगणना स्थगित भएको विषयमा निर्वाचन आयोगमा आएका हौँ । बाजुरामा पनि स्थगित गर्नु नपर्ने ठाउँमा स्थगित भएको छ । कयौँ ठाउँमा स्थगित गरेको सहज रूपमा फेरि गर्नु भनि भनिदिएको छ । स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार मत खसेको छ ।
कांग्रेस उपसभापति एवं स्याङजा क्षेत्र नम्बर २ का उम्मेदवार धनराज गुरुङले बाहिरका मान्छे कोही पनि आएर मत नखसालेको बताएका छन् ।उनले मतदाता नामावलीमा नाम भएका मानिसहरूको भोट खसेको र विधिवत रुपमा चुनाव सम्पन्न भएको भन्दै सबै दल र त्यहाँका पदाधिकारीहरूले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई आयोगले रोक्न आवश्यक नभएको बताएका हुन् ।
उनले भने, ‘यसलाई रोकेर अर्को अनधिकृत कमिटी बनाएर पठाएर त्यसको नाममा फेरि अर्को केही खेल गर्न खोजेको हो कि ? भन्ने हामीलाई लाग्यो । छानबिन समिति पठाएको नै गलत भयो । ५ बजेभित्र गरेर सबै सम्पन्न भइसकेपछि त्यो भित्र घटेको घटनामा छानबिन गर्ने हो । त्यो भित्र केही घटना घटेको छैन र केही भएको छैन भनेपछि ल्याएर कहाँ बाट कसले के उजुर गर्दैमा, बतासे उजुरले मतगणना रोक्नु हुँदैनथ्यो । यो गलत भएको छ । तुरुन्त मतगणना होस् । त्यसैगरेर बाजुरामा पनि तुरुन्त मतगणना होस् ।’
स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरु गर्नुपर्ने बताएका छन् । उनले स्याङ्जा २ मा शान्तिपूर्ण रुपमा मतदान भएको दाबी गरे ।
उनले नियम, कानूनबमोजिम, निर्वाचन ऐन निर्वाचन निर्देशिका बमोजिम निर्वाचनहरू सम्पन्न भएको, बुथमा सबै दलका प्रतिनिधिले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बसेर मतदान गराएर मुचुल्का उठाएर, सही छाप लगाएर मत पेटिकाहरू मत गणनास्थलमा ल्याएर, त्यहाँ पनि मतपेटिकाहरू थन्क्याउने र अन्तिममा मुचुल्का उठाएर त्यसमा कांग्रेस, एमालेलगायत सबै दलले सही गरेको निर्वाचन अधिकृतले समेत आफ्नो किटानी रायमा त्यहाँ तत् तत् ठाउँहरूमा कुनै धाँधली नभएको बताएका छन् ।
गुरुङले कुनैपनि बुथ कब्जा नभएको र कुनैपनि अशान्ति नभएको भनेर किटानी राय समेत दिइसकेको अवस्थामा समेत यसरी निर्वाचन आयोगले आजसम्म मतगणना नगरिदिएकोमा हामीले विशेष ध्यानाकर्षण गराएको बताउँदै छिट्टै आयोगले निष्पक्ष निर्णय गरेर मतगणनातर्फ नै निर्वाचन अधिकृतलाई निर्देशन दिनुपर्नेमा जोड दिए ।