काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वााचन अन्तर्गत रामेछापमा प्रतिनिधिसभा सदस्यमा पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् ।
आइतबार बिहान सकिएको मतगणना परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गर्दा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति भइसकेका नेता हुन् । २०७० को संविधानसभा चुनावको समानुपातिकतर्फको सूचीमा पनि उनको नाम थियो । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका उनी पराजित भएका थीए ।
प्रतिनिधिसभा सदस्यमा पराजित एमालेका ढुंगेल २०७४ को निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । वाम गठबन्धनबाट प्रदेशसभा सदस्य बनेका उनी साढे ३ वर्ष वाग्मती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । २०५६ को प्रतिनिधिसभा २०६४ र २०७० को संविधानसभामा एमालेको तर्फबाट रामेछापमा उम्मेदवार भई पराजित बनेका उनी फेरि सोही क्षेत्रबाट संघीय संसदमा पराजित भएका छन् ।
नेपाली कांग्रेसपूर्णबहादुर तामाङ (कान्छाराम)रामेछाप