सरकारले भारतीय पक्षको ‘दबाब’मा परेर भारतलगायत तेस्रो मुलुकबाट आयात हुने तरकारीजन्य खाद्यपदार्थको विषादी परीक्षण रोक्ने निर्णयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सरकार नागरिकमुखी हुनुको सट्टा उल्टो करोडौं नागरिकको स्वास्थ्यसँग सम्झौता गरेको भन्दै विवेकशीलले आपत्ति जनाएको हो।
‘बालबच्चा र करोडौं नागरिकका स्वास्थ्यमै प्रत्यक्ष प्रतिकूल असर पर्ने गरी विषादी प्रयोग गरिएका तरकारी तथा फलफुलहरू आयात भइरहेको छ,’ शनिबार पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सरकार नागरिकमुखी हुनुको सट्टा उल्टो करोडौं नागरिकको स्वास्थ्यसँग सम्झौता गर्दै गर्दा हामी कस्तो समाजवाद उन्मुख हुँदै छौं
भारतीय पक्षले दिएको दबाबलाई भन्सार क्षेत्रमा उपयुक्त विषादी परीक्षणका उपकरण र प्रविधि उपलब्ध नभएको भन्ने बहानामा नअल्झिइ यथाशीघ्र प्राविधिक काम पुरा गरी पुनः नाकामा विषादी परीक्षण सुरू गर्न पार्टीले आग्रह गरेको छ।
विषादी परीक्षण गरेर मात्रै भन्सारबाट प्रवेश दिने नागरिक केन्द्रित सरकारी नीति अनुरूप सरकार आफैंले राजपत्रमै प्रकाशित गरी सुरू गरेको विषादी परीक्षणको काम रोक्न वाणिज्य तथा आपूर्ति मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले फिर्ता लिने निर्णय गरेको थियो।
प्रक्रियागत निर्णय भई कार्यान्वयन भइरहेको स्थितिमा विषादी परीक्षण नै रोक्ने प्रस्ताव प्रधानमन्त्रीबाटै आउनु निकै गैरजिम्मेवार र नागरिकको स्वास्थ्यमाथि अनुदार कदम भएको विवेकशील नेपाली दलको ठहर छ।
‘स्वास्थ्य नागरिक बने पो त देश समृद्ध हुन्छ। सरकार तिमी कहिलेसम्म यो हदसम्म विवेकहीनताको बन्दी बनिरहछौ विवेकशीलले भनेको छ।
नागरिकले विषादीरहित, स्वस्थ तरकारी तथा फलफूल उपभोग गर्न पाउने अधिकार कुण्ठित हुने गरी गरिएको निर्णय फिर्ता लिन र परीक्षणको प्राविधिक पक्षलाई तत्कालै सबल बनाई विषादी परीक्षण सुचारू गर्न विवेकशील नेपाली दलले सरकारसँग माग गरेको छ।