काठमाडौं । आमनिर्वाचन २०७९ को मतगणना जारी रहँदा अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ । यसले कुन दलको आकार कत्रो हुने र हैसियत के हुने भन्ने मोटामोटी चित्र देखाइसकेको छ । यस पटकको प्रतिनिधि सभामा २७ वर्षदेखि ८० वर्षसम्मका उम्मेदवार निर्वाचित भएका छन् । यहाँ ७० वर्ष नाघेका विजयी उम्मेदवारबारे चर्चा गरिएको छ ।
यस पटकको प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चा पार्टीका चित्रबहादुर केसी सबैभन्दा बढी उमेरका सांसद हुनेछन् । केसी ८० वर्ष नाघिसकेका छन् । केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।
दोस्रोमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी ७७ वर्षका भए । डडेलधुराबाट निर्वाचित भएका देउवा फेरि पनि प्रधानमन्त्रीको दौडमा देखिने प्रवल सम्भावना रहेको छ ।
अर्का ज्येष्ठ सांसद हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट निर्वाचित प्रधान हाल ७३ वर्षका भएका छन् । यस्तै झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्ष पुगिसकेका छन् ।
रुपन्देही–४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्ष पुगेका छन् । उनी पनि यस पटकको प्रतिनिधि सभा निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।