काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै सर्वोच्चमा दर्ता भएका पाँचवटा रिट निवेदनको सुनुवाइ आज आइतबार हुँदैछ ।
गत शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएपछि आइतबारका लागि पेसी तोकिएको थियो ।सर्वोच्च अदालतमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश दिन माग गर्दै पाँचवटा रिट दर्ता भएका छन् ।
अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ताद्वय सुनीलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी, मोरङको रंगेली नगरपालिकाका देव शर्मा र सोनु रौनियारले संयुक्त र छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।
राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको खिलाफ रहेको दाबी रिट निवेदकहरुले गरेका छन् । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा १ सय १३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।