काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडाैँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्ररूपमा जितेका बालेन्द्र शाह, हर्कराज राईलगायतलाई आफ्नाे पार्टीमा ल्याउनको लागि प्रयास गर्ने बताएका छन् । शुक्रबार रिपाेटर्स क्लबमा आयाेजित पत्रकार सम्मेलनमा पत्रकार हरूसँग संवाद गर्दै भने, ‘बालेन शाहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरूकाे साथ हामीलाई मात्र होइन, अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छाैँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरूलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरू २४ सै घण्टा तयार हुने रविले बताएका छन् ।
♦ दाजु हरिशरणप्रति रविकाे सहानुभूति : जसले मलाई उठ्न सिकायाे, उविरुद्ध कहिल्यै उठ्दिनँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नाे दाजु हरिशरण लामिछानेसँग कुनैखाले मनमुटाव नरहेकाे प्रष्टीकरण दिएका छन् । शुक्रबार रिपाेटर्स क्लबमा आयाेजित पार्टीकाे पत्रकार सम्मेलनमा पत्रकारहरूसँग छलफल गर्दै उनले भने, ‘जसले मलाई उठ्न सिकायाे, उविरुद्ध कहिल्यै उठ्दिनँ ।’ उनले आफूले दाजु हरिशरणबाट जहिल्यै आशीर्वाद लिँदै आएकाे र अझै लिने उनले बताए । ‘जसले मलाई हातमा डाेर्याएर हिँड्न सिकायाे, उविरुद्ध कसरी म जान सक्छु,’ उनले भनेका छन् ।
यसअघि असार ७ गते रविले पार्टीकाे घाेषणा गरेपछि उनका दाजु हरिशरणले भनेका थिए— राष्ट्रिय स्वतन्त्र पार्टीमा आजीवन जान्नँ । यसप्रति साेधिएकाे प्रश्नमा उनले भनेका छन्, ‘छलफल हुन्छ । छलफल पनि कहिलेकाहीँ आफ्नै तवरले अगाडि बढ्छन् । कहिले पारिवारिक छलफल हुन्छ । कहिले राजनीतिक छलफल हुन्छ । चुनावसम्ममा अवस्था परिवर्तन हुनसक्छ । हामी देशकाे बेथितिविरुद्ध लड्ने हाे, आफैँ लड्दैनाैँ ।
