काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तटस्थ युक्रेन सम्बन्धि रुसको माग स्वीकार गर्न तयार हुनुभएको छ ।
रुसको एक स्वतन्त्र पत्रिकालाई अन्तर्वार्ता दिंदै जेलेन्स्कीले युक्रेन स्वीजरल्याण्ड झैं तटस्थ देशको रुपमा रहनुपर्ने मागमा छलफल गर्न आफू तयार रहेको बताउनुभएको हो ।तर उक्त भूमिका स्वीकार्दा युक्रेनको सार्वभौमिकता अक्षुण रहने प्रत्याभूति तेस्रो शक्तिले दिनुपर्ने शर्त पनि उहाँले राख्नुभएको छ ।
रुस र युक्रेनबीच यसै साता टर्कीमा अर्को चरणको वार्ता गर्न तयारी भईरहेको बेला युक्रेनी राष्ट्रपतिबाट यस्तो कुरा आएको हो ।
रुसले युक्रेन कुनै पनि सैन्य गठबन्धनमा संलग्न हुन नहुने र उसको भूमिका स्वीजरल्याण्डको जस्तो हुनुपर्ने शर्त राख्ने गरेको छ ।
उता, युक्रेनी सेनाका गुप्तचर प्रमुखले रुसले युक्रेनलाई दुई भागमा बाँड्न चाहेको आरोप लगाउनु भएको छ । गुप्तचर प्रमुख किरिलो वूडानोभले रुसले युक्रेनलाई उत्तर र दक्षिण कोरियाको मोडलमा विभाजन गर्न खोजेको आरोप लगाउनु भएको हो ।