काठमाडौं । विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १-० ले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे ।
२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलो रोजाईमा अवसर दिए । उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाए ।
नेपालका लागि विमलको यो नवौ गोल हो । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए । यस्तै यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलो रोजाईमा खेल्दा जगजित दोश्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
शनिबारको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् ।
पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो। यस्तै अन्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन् । यसैगरी सुनिल बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो।
नेपालले दोश्रो हाफमा थप दुई गोल गर्ने अवसर गुमाएको थियो। अञ्जन विष्टको हेडर बारमा लागेर फर्किँदा जगजित श्रेष्ठको हेडर मोरिससका गोलकिपर कप्तान केभिनले बचाए ।
नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।
