गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो । गत वर्ष धेरैले कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा नदोहोर्याएका कारण व्यवस्थापकीय कारणले समस्या बढेको अड्कलबाजी गरेका थिए ।
तर, घिसिङ कार्यकारी निर्देशकका रुपमा फेरि आएपछि पनि यो समस्या समाधान हुने बाटोमा गएको देखिएको छैन । गत वर्षायाममा पनि यस्तै समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वितरण सेवाका अधिकारीलाई समस्या समाधानमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका थिए ।
वितरण केन्द्रहरु भने यसलाई विगतकै जस्तो स्थानीय रुपमा उत्पन्न प्राविधिक कारण भन्दै टारिरहेका छन् । बिजुलीका स्थानीय प्रणालीमा प्राविधिक समस्या आउनुलाई प्राधिकरणले साधारण रुपमा ब्याख्या गर्दै आएको छ ।
सडक विस्तार आयोजना, बिजुलीको तार भूमिगत गर्ने आयोजना, ट्रान्सर्फमर र स्वीच गेयर, तार फेर्नेलगायतका काम गर्दा पनि लाइन जाने गरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । कहिलेकाहीँ ट्रान्सर्फमर र लाइनहरुमा समस्या भएर बिजुली जानुलाई उपभोक्ताले प्राविधिक समस्याका रुपमा बुझ्नुपर्ने उनीहरुको भनाइ छ । तर, उपभोक्ताहरु भने प्रणाली व्यवस्थापनमा प्राधिकरणले खास ध्यान नदिएका कारण पनि यस्तो अवस्था आएको आरोप लगाउँछन् ।
विद्युत प्राधिकरणका प्रवक्ता तथा भारप्रेशण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई काठमाडौंमा कढीमा ४ सय मेगावाटसम्म बिजुली माग भइरहेको बताउँछन् । ‘माग धान्न कुनै समस्यम छैन, हामीसँग यो वर्ष ४५६ मेगावाटको, ५२.४ मेगावाट क्षमताको लिखु-४जस्ता आयोजना प्रणालीमा थपिएकाले माग व्यवस्थापनमा कुनै चिन्ता नै छैन,’ उनी भन्छन् ।
माग धान्न सकस नभएपनि प्राधिकरणले प्रणाली सुधारको लागि पर्याप्त काम गरेको छैन । भूमिगत बिजुली लाइन विस्तार गरिरहेकाले पनि प्राधिकरणले हालको वितरणलाइनमा सामान्य सुधारका काम मात्रै गरेको छ । यही बेला वितरण ट्रान्सर्फमरको अभावले पनि समस्यामा पारेको प्राधिकरणको वितरण केन्द्रहरु बताउँछन् ।
स्थानीय क्षेत्रमा माग बढ्दा सम्बन्धित फिडरका लागि आवश्यक र प्रक्षेपित माग धान्न सक्ने गरी सबस्टेसन र वितरण प्रणालीलाई तयार राखिएको ग्राहक सेवा तथा वितरण निर्देशनालयका एक अधिकारी बताउँछन् ।
‘हामीले गर्नसक्ने जति सबै काम गरेका छौं,’ उनी भन्छन्,’तर, कतिपय स्थानमा सडक विस्तार लगायतका कामका लागि सटडाउन लिनुपर्ने हुन्छ । सिस्टम सुधारको लागि पनि काम गरिरहेका छौं ।’
काठमाडौंको प्रणाली सुधारका लागि प्राधिकरणले थालेका कतिपय काममा अवरोध हुँदा पनि समस्या भएको छ । २० वर्षअघि सुरु भएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी रिङ मेन प्रसारणलाइन निर्माणको काम अझै सकिएको छैन । यसमा बुङ्मति क्षेत्रका स्थानीयवासीन्दाको अवरोध छ ।
यो लाइन नबने मातातीर्थसम्म जति बिजुली ल्याइए पनि शहरभित्र वितरण गर्न नसकिने प्राधिकरण बताउँछ । लामो समयदेखि विवाद सल्टाउन प्राधिकरणले सकिरहरेको छैन । समस्या नसल्टिएपछि प्राधिकरणले चोभरबाट पाटनको सबस्टेसनसम्म भूमिगत रुपमा नै प्रसराणलाइन बिछ्याउने तयारी गरिरहेको छ।
सो लाइनलाई भुक्तपुरसम्म पुर्याएपछि बन्ने रिंगबाट बिजुलीको वितरण लाइनमा गुणस्तर थपेर लाइन आउने-जाने समस्या हल गर्न मद्धत पुग्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
