रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि घोषणा सूचीमा परेको, तर चुनाव लडेर आएका हुन् । ६ उपाध्यक्षका लागि सात जना प्रतिस्पर्धामा थिए, जसमा १७६८ मतका साथ छैटौं नम्बरमा रहेर बादल निर्वाचित भए ।
सात सचिवका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए । लेखराज भट्ट १७०४ मतका साथ पाँचौं र टोपबहादुर १७०० मतका साथ छौटौंमा नम्बरमा रहेर विजयी भए ।
ओलीको टिममा नरहेर उपाध्यक्षको चुनाव लडेका घनश्याम भुसाल तथा सचिवको चुनाव लडेका भीम आचार्य र टंक कार्की दुबै पराजित भएका छन् ।
जबकी पूर्वमाओवादी नेताहरु भएकै पदहरुमा ओलीसँग असन्तुष्ट नेताहरुले उम्मेदवारी दिँदा अनेक अनुमान गरिएको थियो । ‘कतै हामीलाई हराउन लागिएको त होइन ? भन्ने प्रश्न पनि कतिपय माओवादी पृष्ठभूमिका प्रतिनिधिहरुले गरेका थिए ।
तर, परिणाम त्यस्तो भएन । एमालेका वैचारिक नेता तथा पूर्वउपमहासचिव घनश्याम भूसाललाई पराजित गरेर बादल उपाध्यक्ष निर्वाचित भएका छन् । सचिवमा त रघुवीर महासेठभन्दा धेरै मत लेखराज भट्ट र टोपबहादुर रायमाझीले पाएका छन् ।
- उत्साहपूर्ण सहभागिता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता भंग भएपछि रामबहादुर थापा बादल नेतृत्वको समूह माओवादी केन्द्रमा फर्किएन । ५ पुसको संसद विघटनसँगै नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका उनीहरुले एमाले नै रोजे ।
२८ फागुन २०७७ मा ओलीले बादलसहित २३ जनालाई एकपक्षीय रुपमा एमाले केन्द्रीय कमिटीमा मनोनित गरे । त्यो दिन भएका सबै निर्णय खारेज गर्नुपर्ने भन्दै माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्यो, तर ओलीले ‘डढेलो लागेको बेला पलाएको पालुवा’ भन्दै उनीहरुलाई संरक्षण गरिरहे । २७ असार २०७८ मा १०बुँदे सहमति हुँदा पनि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई असुरक्षित महसुस हुन दिएनन् । कतिसम्म भने १० बुँदेअनुसार भीम रावलले पाउने पर्ने सूदूरपश्चिम इन्चार्जमा पनि लेखराज भट्टलाई कायमै राखे ।
एमालेले दशौं महाधिवेशन गर्दै गर्दा पूर्व माओवादी पृष्ठभूमिका नेताहरुको माग थियो, तीन पदाधिकारी र केन्द्रीय कमिटीमा सम्मानजनक उपस्थिति हुनुपर्छ ।
नभन्दै ओलीले तीन पदाधिकारी र यसअघि केन्द्रीय सदस्य भएका सबैलाई निरन्तरता दिने प्रस्ताव ल्याए । मतदान हुँदा पनि उनीहरुलाई जिताएका छन् । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु दशौं महाधिवेशनबाट निर्वाचित कमिटीमा आफूहरुको उपस्थितिलाई सम्मानजनक मात्र नभएर उत्साहपूर्ण भएको बताउँछन् ।
केन्द्रीय सदस्य पासाङ शेर्पा भन्छन्, ‘नेकपाबाट एमाले प्रवेश गरेपछि हामी पछुताउने छैन । केन्द्रीय कमिटीका साथै पदाधिकारीमा हाम्रो उपस्थितिलाई उत्साहजनक मानेका छौं ।’
- ओलीको दिन खोजेको तीन सन्देश
एमाले नेताहरुका अनुसार आफू निकटहरुलाई रोकेर भएपनि पूर्व माओवादी पृष्ठभूमिका नेताहरुलाई स्पेश दिँएर अध्यक्ष ओलीले मख्यतः तीन सन्देश दिन खोजेको छन् ।
पहिलो : यो पुरानो एमाले होइन, नेकपाकै निरन्तरता हो । पूर्वमाओवादी नेताहरुले पनि आफ्नो कदमको प्रतिरक्षामा यही भाश्यलाई स्थापित गर्ने प्रयास गर्दै आएका थिए ।
ओलीले बेलाबेला सार्वजनिक मञ्चहरुबाट त्यही भन्ने गरेका छन् । दशौं महाधिवेशनमा पूर्वमाओवादी नेताहरुलाई पदाधिकारी र केन्द्रीय कमिटीमा सम्मानजनक स्पेस दिएर पनि उनले त्यही पुष्ट गर्न खोजेका हुन् ।
दोस्रो : माओवादी केन्द्रसँग गरेका प्रतिवद्धता वा सहमतिहरु कार्यान्वयनका सन्दर्भमा ओलीको ‘ट्र्याक रेकर्ड’ त्यति राम्रो छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको भद्र सहमति कार्यान्वयन होस् वा वाम गठबन्धन गर्दा भएको आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयनमा होस्, ओलीमाथि प्रश्न उठेको छ । माओवादी केन्द्रका नेताहरुले त्यसलाई लिएर ओलीले झुटो बोल्छन्, गरेका सहमतिहरु पालना गर्दैनन्’ भन्ने स्थापित गर्ने प्रयास गरेका छन् ।
तर पहिले उनले माओवादी पृष्ठभूमिबाट आएका र पछिल्लो समय एमाले छिरेका नेताहरुलाई सम्मानजनक स्थान दिएर ओली त्यसलाई खण्डन गर्ने प्रयास गरेका छन् ।
तीन : देश निर्वाचनको नजिक छ । एमाले नेताहरुका अनुसार निर्वाचनमा एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमालेलाई अवरोध गर्न सक्छ । वाम जनमत तीनतिर विभाजित हुन्छन् । त्यसको असर कम गर्न पनि एमालेले माओवादी र एकीकृत समाजवादीलाई कमजोर बनाउने प्रयास गर्ने रणनीति लिएको छ । यसका लागि दुबै दलका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउने ओलीको तयारी छ । दशौं महाधिवेशनको उद्घाटन समारोहमै उनले आगामी फागुनसम्म एमाले प्रवेशको लहर देशभर चल्ने दाबी गरेका थिए ।
उनी पूर्वलडाकूहरु पनि पार्टीमा ल्याउन चाहन्छन् । त्यही कारण सार्वजनिक मञ्चहरुबाट माओवादी नेतृत्वको चर्को आलोचना गर्दा पनि पूर्व लडाकूहरुप्रति सहानुभूति राख्छन् । पार्टीमा पूर्वमाओवादी नेतृत्वलाई उत्साहजनक भूमिका दिएर उनले पूर्व लडाकूहरुलाई पनि एमाले प्रवेश गर्दा असुरक्षित भइन्न भन्ने सन्देश समेत दिन खोजेको एक केन्द्रीय सदस्य बताउँछन् ।
