मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आहृवान गरेका हुन् । लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा छलफल गर्नका लागि प्रदेश प्रमुख शेरचनले साउन २७ गते विशेष अधिवेशन आह्वान गरेका थिए ।
विशेष अधिवेशन आह्वान नै गलत भएको जिकीर गर्दै लुम्बिनी प्रदेशका सांसद लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर रिटमाथि सुनुवाइ भएकै दिन प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल भयो । तर अविश्वास प्रस्ताव टुंगो नलाग्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । सर्वोच्चले यस मुद्दामा प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालयलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको छ र रिटलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेको छ ।