Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अल्पमतका मुख्यमन्त्री डिल्ली चौधरीले सुटुक्क गरे कर्मचारी सरुवा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १५ २०८०
  • 4.2K
    SHARES

काठमाडौँ । कामचलाउ लुम्बिनी प्रदेश सरकारले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । सरुवा हुनेमा कार्यालय प्रमुखदेखि नायब सुब्बासम्मका कर्मचारीहरु छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यही चैत २ गते नै कर्मचारीहरुको सरुवा गरे पनि सार्वजनिक भने गरेको छैन । यसमा अझ अचम्म त के छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता निराजन घिमिरेले कर्मचारीहरुको सरुवा हुँदै नभएको जिकीर गरेका छन् । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै कर्मचारी प्रशासन शाखाका अधिकृत श्यामलाल न्यौपानेले भने कर्मचारीहरु सरुवा भएको स्वीकार गरेका छन् ।

हाम्रो जिज्ञासामा प्रवक्ता घिमिरेले कर्मचारी सरुवा गर्ने क्यालेण्डर साउनमा भएको भन्दै अहिले कर्मचारी सरुवा नभएको र नहुने जिकीर गरे । उनले भने, ‘कर्मचारी सरुवाको क्यालेण्डर छ, साउनमा गर्ने । त्योबाहेक सरुवा हुँदैन । अहिले कसैको सरुवा भएको पनि छैन र तत्काल हुँदैन पनि । प्रवक्ता घिमिरेले दाङस्थित यातायात कार्यालयका तत्कालीन प्रमुख रहेका गौतम थरका एकजना कर्मचारीको ‘कम्प्लेन आएकाले’ मन्त्रालयमा सरुवा गरिएको बाहेक अरु कसैको सरुवा नभएको बताएका छन्  ।

तर उनको यो भनाइलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै कर्मचारी प्रशासन शाखाका अधिकृत (सातौं) श्यामलाल न्यौपानेको भनाइले खण्डन गरेका छन  । हुन त न्यौपानेले पनि सुरुमा कर्मचारीको सरुवा नभएको भन्दै कुरा लुकाउने कोसिस गरेका थिए । तर सरुवा भएका कर्मचारीहरुमध्ये केहीको नामै लिएर जिज्ञासा राखेपछि मात्र न्यौपानेले सरुवा भएको स्वीकार गरेका हुन्  ।

उनले सुरुमा ‘केही कार्यालय प्रमुखहरुको मात्र’ सरुवा गरेको बताएका थिए  । तर सुब्बाहरुको पनि सरुवा भएको छ त भनेपछि बल्ल उनले सात जना कर्मचारीहरुको सरुवा भएको बताएका हुन्  । ‘चैत २ गतेको मितिमा पाँच जना कार्यालय प्रमुख र दुई जना सुब्बा गरी जम्मा ७ जनाको सरुवा भएको छ, न्यौपानेले स्वीकार गरेका छन्  । न्यौपानेले चैत २ गते सरुवाको निर्णय भएको भनेपनि कर्मचारीलाई दिइएको सरुवा पत्रमा चैत ११ गतेको मिति राखिएको छ । सरुवाको निर्णयबारे कतिपय मन्त्रालयका मन्त्री र सचिवहरु पनि अनभिज्ञ छन् । उद्योग तथा यातायात मन्त्री सरोज थापाले आफ्नो मन्त्रालयबाट कर्मचारी सरुवा भएको भन्ने जानकारी आफूलाई नभएको बताएका छन् ।

‘नगरी नहुने’ भएकाले सरुवाको क्यालेण्डरबाहेक पनि सरुवा गरिएको न्यौपानेले बताए । उनले भने, ‘हामी ४५ प्रतिशत कर्मचारीहरुले मात्र प्रदेश सरकार चलाइरहनु परेको छ । कर्मचारी थोरै छन् भनेर काम पनि रोक्नु भएन । नगरी नहुने भएका कार्यालयहरुमा कर्मचारीहरुको सरुवा गरिएको छ ।’ यसरी सरुवा गर्दा आवश्यकता र कर्मचारीहरुको व्यवहारिकता पनि मिलाइएको उनले दाबी गरे ।

उनका अनुसार शाखा अधिकृत हुकुमबहादुर वलीलाई यातायात व्यवस्था कार्यालय तुलसीपुरबाट शहरी विकास मन्त्रालय देउखुरीमा सरुवा गरिएको छ । ‘उहाँ लामो समय यातायात कार्यालयमा बस्नु भएको र यता मन्त्रालय पनि काम चलाउनु पर्ने भएकाले महाशाखा प्रमुखको रुपमा काम गर्ने गरी उहाँको सरुवा गरिएको छ,’ न्यौपानेले भने ।

यसैगरी अधिकृत आठौं विनोद कुमार पौडेललाई सहकारी प्रशिक्षालय बाँकेबाट यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ल्याइएको छ ।

अर्का शाखा अधिकृत दिल कुमार वलीलाई वन तथा वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयबाट घरेलु कार्यालय रोल्पामा, शाखा अधिकृत सरोज भण्डारीलाई घरेलु कार्यालय प्युठानबाट यातायात सेवा कार्यालय कपिलवस्तुमा, मणिबहादुर गुरुङ (अधिकृत छैटौं) लाई वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयबाट घरेलु कार्यालय प्युठानमा सरुवा गरिएको छ ।

यसैगरी रमेश कुमार रेग्मी (सहायक पाँचौं)लाई यातायात कार्यालय बाँकेबाट जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दाङमा र कम्प्युटर अपरेटर शक्ति ठाकुरलाई गृह मन्त्रालयबाट यातायात कार्यालय नेपालगञ्ज बाँकेमा सरुवा गरिएको छ ।

सरुवा भएका भनेर सात जनाको नाम सार्वजनिक भए पनि अन्य धेरै कर्मचारीहरुको पनि सरुवा भएको मुख्यमन्त्री कार्यालय स्रोतको दाबी छ ।

सरुवाको निर्णयबारे कतिपय मन्त्रालयका मन्त्री र सचिवहरु पनि अनभिज्ञ छन् । उद्योग तथा यातायात मन्त्री सरोज थापाले आफ्नो मन्त्रालयबाट कर्मचारी सरुवा भएको भन्ने जानकारी आफूलाई नभएको बताए । ‘अहिले त सरुवा नहुनु पर्ने हो’ उनले भने, ‘मलाई मेरो मन्त्रालयका कर्मचारी सरुवा भएको जानकारी छैन । के रहेछ बुझ्छु ।

मुख्यमन्त्रीले गलत गरिरहनु भएको छ : एमाले

अल्पमतमा परेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारी सरुवा र बजेत वितरणमा मनपरी गरेको भन्दै सत्ता गठबन्धन दलका नेताहरु रुष्ट छन् ।

लुम्बिनी प्रदेशसभामा सहभागी १० मध्ये ८ दल र एक स्वतन्त्रसमेत गरी ५४ मतको समर्थनमा नेपाली कांग्रेसका चौधरी गत १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखसहित ११ सांसद रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा छन्  ।

अल्पमतमा परेका मुख्यमन्त्रीले कर्मचारी सरुवा र बजेट वितरणमा गलत ढंगले काम गरिरहेको भन्दै नेकपा एमालेले आपत्ती जनाएको छ । लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्रीको कार्यशैलीमा एमालेको आपत्ती रहेको बताउँदै भने, ‘अल्पमतका मुख्यमन्त्रीले बेठिक गरिरहनु भएको छ । कर्मचारी सरुवा मात्र होन, जथाभावी बजेट वितरण पनि गरिरहनु भएको छ । यसमा हाम्रो आपत्ती छ ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले पनि कामचलाउ सरकारले थुप्रै कर्मचारी सरुवा गरेको भन्ने आफूले पनि सुनेको भन्दै त्यो गलत भएको बताए । ‘अहिलेको सरकारले कर्मचारी सरुवा गर्न मिल्दैन । तर ठूलो संख्यामा सरुवा भएको भन्ने सुनेको छु, नयाँ सरकार आयो भने यो सरकारले गरेका निर्णय रद्द हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४