Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धमाधम फर्काइँदै चोरिएका ‘देवता’, २६ मूर्ति फिर्ता गर्ने प्रक्रियामा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १५ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । २०औं शताब्दीको छैटाैं र सातौं दशकमा हराएका झण्डै दुई दर्जन मूर्ति तथा पुरातात्विक सामग्रीहरू नेपाल भित्र्याउने प्रक्रिया शुरु भएको छ । पुरातत्व विभागले सबै प्रमाण जुटाएर २६ वटा मूर्ति तथा अन्य ऐतिहासिक एवं सांस्कृतिक वस्तु नेपाल ल्याउने प्रक्रिया शुरु गरेको जनाएको हो ।

युनेस्कोको महासन्धि अनुसार चोरी भएका एवं विदेशी यात्रीहरुले उचित मूल्य तिरेर लगेका मूर्ति समेत नेपालले दाबी गरेको खण्डमा फिर्ता गर्नुपर्ने प्रावधान अनुरुप यसअघि पनि पाटन र काठमाडौंका विभिन्न मूर्तिहरु नेपाल ल्याइसकिएको छ । ती बाहेक झण्डै २६ वटा मूर्ति तथा सांस्कृतिक वस्तु फिर्ता गर्ने प्रक्रिया शुरु गरिएको पुरातत्व विभागकी पुरातत्व अधिकृत शुभद्रा भट्टराईले जानकारी दिइन् ।

सन् १९७० मा भएको ‘सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात, निर्यात र स्थानान्तरणको निषेध र रोकथाम सम्बन्धी महासन्धि’ले चोरी निकासी भएर विदेश पुगेका मूर्तिको हकमा विना क्षतिपूर्ति र उचित मूल्य दिएर खरीद गरेको मूर्तिको हकमा क्षतिपूर्ति दिएर मूर्ति फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ । महासन्धिको दफा ७ मा राष्ट्रिय कानूनको अधीनमा रही गैरकानूनी रूपमा अर्को मुलुकमा निर्यात गरिएका सांस्कृतिक सम्पत्ति प्राप्त गर्नेबारे मूल राज्यलाई अर्को राज्यले सूचना दिनुपर्ने उल्लेख छ । अर्थात् उक्त महासन्धिको पक्ष राष्ट्रमा नेपालको मूर्ति वा अन्य सांस्कृतिक वस्तु निकासी भएको जानकारी भएमा सम्बन्धित देशले सो बारे जानकारी गराउनुपर्ने व्यवस्था छ ।

त्यस्तै, दफा ७ को बी (आई) मा मूर्तिको स्रोत राज्यको कुनै पनि सांस्कृतिक सम्पत्ति पुनःप्राप्ति र फिर्ता लिन उचित कदम चाल्ने सम्बन्धमा व्यवस्था गरिएको छ । यसमा कुनै पनि मुलुकबाट चोरी निकासी गरिएको मूर्ति भएमा क्षतिपूर्ति दिनु नपर्ने तर कुनै कारणले खरीद गरेर लगेको प्रमाण भेटियो भने क्षतिपूर्ति तिरेर मूर्ति एवं सांस्कृतिक वस्तु फिर्ता ल्याउन सक्ने व्यवस्था उक्त दफामा छ ।

यही महासन्धिको आधारमा नेपालले मूर्ति फिर्ताको दाबी पठाएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिइन् ।

पुरातत्व विभागले मूर्ति चोरी भएको वा बेचिएको ठाउँको स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन, फोटो, इन्भेन्ट्री आदि प्रमाण पुर्‍याएपछि उक्त मूर्ति फिर्ता गर्नुपर्छ भन्ने विषय महासन्धिमा उल्लेख छ । अहिले फ्रान्स र लन्डनका विभिन्न संग्रहालयमा राखिएका २६ वटा मूर्ति एवं अन्य ऐतिहासिक सामग्रीहरु फिर्ता गर्ने प्रक्रिया शुरु भइसकेको पुरातत्व विभागको पुरातत्व तथा क्युरियो जाँचपास शाखाकी प्रमुख समेत रहेकी भट्टराईले जानकारी दिइन् ।

फ्रान्सको बोर्नहार्म्स कम्पनीले लिलामीमा राखेको भैरव, पञ्चमुखी, हनुमान, महालक्ष्मी, नृत्यनाद र चामुण्डाको मूर्ति फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ । जस अनुसार मूर्ति रहेको ठाउँ पाटनको तलेजु क्षेत्रमा पुगेर पुरातत्व विभागका अधिकारीहरुले स्थलगत प्रतिवेदन तयार पारेर विभागीय निर्णय समेत गरी दुई दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएका थिए । आवश्यक प्रमाण पूरा गरेर पठाएको सो प्रतिवेदन परराष्ट्रमार्फत सम्बन्धित मुलुकको दूतावास हुँदै सम्बन्धित संग्रहालयसम्म पुगेपछि मूर्ति फिर्ता हुनेछ । यहाँबाट कूटनीतिक पहल शुरु गरेपछि मूर्ति आइपुग्नको लागि कम्तीमा एक महीना लाग्ने विभागले जनाएको छ । प्रक्रियागत झण्झट आयो भने केही लम्बिन पनि सक्छ ।

त्यस्तै, फ्रान्सको नेशनल म्युजियम अफ एसियन आर्ट्स (जुमिट) म्युजियममा पनि भक्तपुर र पाटनबाट हराएका दुई मूर्तिहरु भेटिएको छ । श्रीधर विष्णु र उमामहेश्वरका मूर्तिहरु फिर्ता गर्ने प्रक्रिया पनि अघि बढिसकेको भट्टराईले जानकारी दिइन् । दुई मूर्तिमध्ये उमामहेश्वर प्राचीन काल अर्थात् लिच्छविकालभन्दा पुरानो हो ।

अर्काेतर्फ, लन्डनको भिक्टोरिया एण्ड अलबर्ट म्युजियममा रहेका १८ वटा मूर्ति सहितका सांस्कृतिक वस्तुहरू नेपाल फिर्ता गर्ने प्रक्रिया पनि शुरु भएको छ । जसमा बुद्ध, तारा, इन्द्र, उमामहेश्वर आदिका अधिकांश मूर्तिहरु छन् भने पोर्टेबल साइनहरु, जन्तर जस्ता केही सांस्कृतिक वस्तुहरु पनि छन् । सांस्कृतिक वस्तु एवं मूर्तिसहित गरेर १८ किसिमका सामग्री नेपाल भित्र्याउने बारे प्रमाणसहितको प्रतिवेदन मन्त्रालयमा पठाइसकिएको विभागले जनाएको छ ।

त्यस्तै, हनुमानढोकाको कण्ठीहारको विषयमा पनि प्राविधिक प्रतिवेदन तयार पारेर राखिएको छ । तर पुरातत्व विभागको विभागीय निर्णयसँगै यसको पनि फिर्ता प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ ।

के हो मूर्ति फिर्ता गर्ने प्रक्रिया ?

मूर्ति फिर्ताको लागि पहिलो शर्त भनेको त हराएको मूर्ति कहाँ छ ? भन्ने सूचना पाउनुपर्छ । इन्टरनेटमा जारी गरिएको अक्सनको आधारमा होस् वा कुनै संग्रहालयमा राखिएको मूर्ति प्रदर्शनीको क्रममा पनि भेटिने गर्छ । त्यसरी भेटिएको मूर्ति नेपाली हो भन्ने पुष्टि भएपछि पुरातत्व विभागमा मूर्ति फिर्ताको लागि पहल गरिदिन आग्रह गरिन्छ ।

त्यसपछि विभागले अध्ययन गरी त्यसको प्रमाण संकलन गर्छ । ती सबै प्रमाण संकलन गरिसकेपछि त्यसलाई विभागीय निर्णयको लागि पेश गरिन्छ । विभागले यसबारे निर्णय गरेपछि यो संस्कृति मन्त्रालयमा पुग्छ । मन्त्रालयले परराष्ट्र मार्फत सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासमा सो प्रमाणसहितको दाबी पत्र पठाउने गर्छ । त्यसरी दूतावासले पनि कूटनीतिक रुपमा मूर्ति फिर्ताको लागि आग्रह गर्छ । प्रमाणको रुपमा स्थलगत अध्ययनको प्रतिवेदन, फोटो र इन्भेन्ट्री लगायत प्रमाण राखेर कूटनीतिक माध्यमबाट दाबी पेश गर्ने गरिन्छ । सम्बन्धित राजदूतावास मार्फत गरिने दाबीमा युनेस्कोको उक्त अभिसन्धिमा हस्ताक्षर गरेको मुलुकले प्रमाण पुगेको खण्डमा जसरी पनि फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

कति आए हराएका मूर्तिहरु ?

पुरातत्व विभागका अनुसार २०५१ सालमा अमेरिकाबाट फिर्ता आएका ४० वटा मूर्ति राष्ट्रिय संग्रहालयमा राखिएको छ । चोरी गरी जर्मनी पुर्‍याइएका उमामहेश्वरको मूर्ति जर्मन सरकारले २०५६ सालमा फिर्ता गरेको हो । अहिले सो मूर्तिलाई पाटन संग्रहालयमा सुरक्षित राखिएको विभागले जनाएको छ । उक्त मूर्ति धुलिखेलबाट हराएको १२ औं शताब्दीको मूर्ति हो ।

त्यस्तै, २०५९ सालमा अस्ट्रियाबाट फिर्ता भएको दीपंकर बुद्धको मूर्ति पनि अहिले सम्बन्धित ठाउँमा राखिएको छ । २०५६ साल भदौ २५ गते अमेरिकाको म्युजियमबाट फिर्ता भएको गरुडासन विष्णुको मूर्ति काठमाडौंको जैसीदेवलबाट चोरी भएको थियो । सो मूर्ति पनि अहिले फिर्ता भएको विभागको क्युरियो शाखाले जनाएको छ । यसबाहेक पाटनको किलबहालबाट चोरी भएको बुद्धको मूर्ति पनि फिर्ता भइसकेको छ ।

१२ औं शताब्दीमा बनेको ब्रह्माको मूर्ति मृगस्थलीबाट सन् १९८० को दशकमा हराएको थियो । त्यो मूर्ति पनि फिर्ता भइसकेकाे छ । फर्पिङबाट चोरी भएको वा हराएको सरस्वती, पनौतीबाट चोरी भएको वा हराएको सूर्य आदिको मूर्ति सम्बन्धित देशबाट फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा राखिएको छ ।

२०५३ साल असार १० गते बेलायतबाट फिर्ता भएका १९ थान मूर्ति हाल राष्ट्रिय संग्रहालयमा राखिएको छ । डोल्पा जिल्लाको यन्सेर जांचुमलिं गुम्बाबाट चोरी भई ल्हासा तिब्बतबाट बरामद भएका जम्मा २८ थान मूर्तिहरू फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा पठाएको र संग्रहालयबाट पुनः डोल्पामा पठाइएको छ ।

त्यस्तै, २०७४ साल चैत २१ गते अमेरिकाको द मेट्रोपोलिटन म्युजियम अफ आर्ट नेटवर्कमा रहेको कालो प्रस्तरको बुद्धको मूर्ति (स्थानक) एक थान र प्रस्तरको उमामहेश्वरको मूर्ति एक थान पुरातत्व विभागलाई फिर्ता गरी सोही दिन राष्ट्रिय संग्रहालयमा पठाइएको थियो ।

सन् १९६० देखि ८० को दशकमा नेपालबाट झण्डै ५०० को हाराहारीमा प्राचीन एवं त्यसपछिका विभिन्न कालखण्डका मूर्तिहरू हराए । २०७४ साल असार २ गते पुरातत्व विभागमा प्राप्त हुन आएको लेरी एलेन इन्नेरिचको व्यक्तिगत संग्रहमा रहेको चार थान मूर्ति उनको मृत्युपछि इच्छापत्र अनुसार अमेरिकाबाट फिर्ता आएको थियो ।

ती चार मूर्तिमा एउटा १५ औं शताब्दीको चरेस (ब्रोन्च) बाट बनेको बुद्धको मूर्ति, १५ औं शताब्दीको अमोघपाणि लोकेश्वरको मूर्ति, १६ औं शताब्दीमा बनेको अमोघपाणि लोकेश्वरको चरेसको मूर्ति र १७ औं शताब्दीको मञ्जुश्रीको मूर्ति अमेरिकाबाट फिर्ता भएको विभागले जनाएको छ ।

विभागका अनुसार नेपाल ल्याइएका मूर्तिहरु स्थानीय प्रशासन, स्थानीय सरकार र सुरक्षा निकायले पुरानै ठाउँमा सुरक्षित राख्न सक्ने प्रत्याभूति दिलाएको खण्डमा पुरानै ठाउँमा प्रतिस्थापन गरिनेछ भने सुरक्षा जोखिममा रहेका मूर्तिहरु राष्ट्रिय संग्रहालयमा राख्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४