काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्रीको पदमा सपथ ग्रहण लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समयमा नेकपा एमाले बाहेकका राजनीतिक दलहरुले बहुमतको सरकार गठन गर्न नसकेपछि संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६को उपधारा ३ अनुसार पुन: प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
आज दिउँसो राष्ट्रपति भवन शितल निवासमा सपथ लिएका ओलीले सपथको क्रममा मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु भन्नेमा प्रतिज्ञा गर्छु भन्ने वाक्यलाई उच्चारण गर्न मानेनन्।
प्रधानमन्त्रीको सपथ लिइरहेका ओलीले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठ पूर्वक सम्ममात्रै भने, प्रतिज्ञा गर्छु चाहिँ भनेनन्,’ ओलीले सपथको वाक्य पूरा नभनेपछि राष्ट्रपति भण्डारीले ‘प्रतिज्ञा गर्छु भन्न इसारा गरिन्। तर, ओलीले ‘त्यो पर्दैन’ भनेर टार्दिए।
राष्ट्रपतिले जे भन्न इसारा गरेकी थिइन्, त्यो कुनै विवादास्पद विषय थिएन। राष्ट्रपतिको पदीय मर्यादालाई ‘त्यो पर्दैन’ भन्दै ओलीले टारेको टेलिभिजनबाट प्रसारित भइरहेको थियो। राष्ट्रपतिको आग्रहलाई ‘वेवास्ता’ गरेको दृश्य शोभनीय भने देखिएको थिएन।