काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।
वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी -जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएन ।
बहुमत नपुग्ने भएपछि कांग्रेस-माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन ।
त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दललाई सरकार गठनको अवसर दिएकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।
पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ ।
वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा बढी सदस्य भएको दलको हैसियतमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ ।
यसअघि आजै राष्ट्रपति कार्यालयले विहीबार राति एक विज्ञप्ति जारी गर्दै धारा ७६(२) अनुसार कसैको पनि दाबी नपरेको उल्लेख गरेको थियो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भए पनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको थियो ।
प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २७ मा पदमुक्त भएका थिए ।
प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाएका थिए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।
प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए ।
ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले अबको एक महिनामा फेरि संसदमा विश्वासको मत लिनुपर्नेछ ।
यसअघि २०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । पछि दुई पार्टी एकता भएर नेकपा बनेको थियो ।
तर, गत फागुन २३ को सर्वोच्चको फैसलासँगै नेकपा विभाजित बनेपछि भने माओवादीले ओलीलाई साथ नदिएपछि ओली सरकार संकटमा परेको थियो ।
सो अघि २०७२ असोज २५ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । यससँगै ओलीले प्रधानमन्त्रीमा ह्याट्रिक पूरा गरेका छन् ।
