Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बादी समुदायको पहिरन : पहिले र अहिलेमा कति आयो भिन्नता ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०७७
  • 7.1K
    SHARES

बादी समुदायको उत्पत्तिको इतिहासबारे विभिन्न प्रकारका मिथ र कथाहरु पाइन्छ । सल्यान, जाजरकोट, मुसीकोट तथा बझाङका बादीहरुका आ–आफ्नै तरिकाका कथाहरु छन् भने अन्यत्रका बादीहरूमा छुट्टै मिथक पाइन्छ । ऐतिहासक मिथक र किंवदन्तीले उनीहरुलाई कुनै समयको इन्द्रलोकका उपाध्याय ब्राह्मणहरू रहेको देखाउँछ । ती किंवदन्ती अनुसार बादीहरु राजाको सेवा गर्ने र राजाका भान्से भएको देखिन्छ । यहाँ तिनै केही किंवदन्तीहरु उल्लेख गरिएको छ ।

बादी समुदायलाई उपाध्याय बाहुनको सन्तान पनि भनिन्छ । कुनै समयमा इन्द्रलोकमा सधैँ जसो नाचगान र भोजभतेर हुने गथ्र्याे । इन्द्रको भान्सामा उपाध्याय बाहुनले मात्र भान्सा गर्न पाउँथे । एकपटक इन्द्रलोकमा पाँचवटा देउताहरुको भोज इन्द्रले नै आयोजना गरेछन् ।

त्यस भोजमा भोजन तयार गर्नको लागि उपाध्याय बाहुनलाई जिम्मा दिइएछ । त्यसपछि आफ्नो जिम्माअनुसार बाहुनले भोजन तयार गरिरहेको रहेछ । त्यहीबेला उता इन्द्रका परीहरुले ती सबै देउताहरुलाई आफ्नो कला देखाइरहेका थिए । इन्द्रलोकमा अप्सराहरुको त्यो नाचगानलाई भान्से बाहुनले उत्सुक भएर भान्साको (गुजेला) प्वालबाट एकोहोरो हेरिरहेको रहेछ । तर उता भोजन भने जलेर सबै नष्ट भएछ । भान्से बाहुन भान्सा भन्दा पनि परीहरुको नाचगानमा मस्त हुँदा उसलाई भान्सा जलेको कुनै पत्तो नै भएन ।

जब इन्द्रले सबै देवताहरुलाई खानाको लागि आग्रह गरे । त्यसपछि भान्सेलाई खाना पस्कन भने तर भान्से दौडदै गएर इन्द्रको शरणमा परेर भन्यो, “महाराज म परीहरुको नाचमा नै मस्त भएछु, परीहरुको नाच हेर्दाहेर्दै मैले भोजन जलेको पत्तो नै पाइन, माफ पाउँ महाराज” । त्यसपछि इन्द्रले, “तिमीलाई नाच सा¥है मन पर्छ?” भनेर सोधेछन् । त्यो भान्सेले, “हो हजुर मलाई परीको नाचगान र सङ्गीतमा मेरो सानैदेखिको रुची हो, मलाई सङ्गीत सा¥है नै मन पर्छ” भनेछ । यसरी इन्द्रले त्यो भान्सेलाई सराप दिएछन्, “आजदेखि तिमी मत्र्य लोकमा जानू, त्यहाँ तिम्रो टाउकोमा धुलो नहोस्, खुट्टामा हिलो नहोस्, तिम्रो हातले खुर्सानी नफलोस्, मागेपछि सबै मिलोस्, नाचगान गर्नू, छोरी बुहारी, श्रीमति समेतलाई नचाउनू र त्यसैबाट तिमीले आफ्नो जीवन चलाउनू” । अनि इन्द्रले भान्सेलाई स्वर्गलोकबाट नर्कलोकमा पठाए । त्यही उपाध्याय बाहुन इन्द्रले भने झैं गीत गाउँदै, वाद्यवाधन बजाउँदै र बनाउँदै आफ्नो जीविका चलाउँदै आयो । र, तिनैका सन्तान नै बादीहरु हुन् भन्ने मान्यता रहेको छ । आजसम्म पनि बादीहरु गीत गाएर नै जीविका चलाएको देखिन्छ । त्यसैले पनि यस जातिलाई उपाध्याय बाहुनको सन्तान हो भन्ने गरिन्छ । यस्तो किसिमको भनाई भन्ने चलन विशेषगरी सल्यानी र सल्यानबाट झरेका सबै बादीहरुको रहेको छ ।

बादी समुदायका केही साझा पहिरनहरू

ठाउँठाउँमा रहेका बादी समुदायका मानिसहरूमा छुट्टाछुट्टै किसिमको पहिरन परम्परागत कालदेखि चल्दै आएको मानिन्छ । जसअनुसार पछिल्लो समय उनीहरुको परम्परागत पोसाकमा समेत ठूलो भिन्नता आउन थालेको छ । आधुनिकीकरणसँगै उनीहरुको परम्परागत पोसाकमा समेत ठूलो भिन्नता आउन थालेको छ ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका लागि यमबहादुर किसान र गोपाल नेपालीले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार उनीहरूको परम्परागत पोसाक र अहिलेको पोसाकमा ठूलो भिन्नता आएको छ ।

बादी पुरुषको परम्परागत पोसाकमा छोटो बाहुले भोटो, धोती, लुंगी (प्रधानी) र धारो भन्ने पोसाक मुख्य छन् । यसमध्ये लुंगी लगायतका अधिकांश पहिरन लोपोन्मुख अवस्थामा छन् । अहिले पनि केही बादी बुढा मान्छेहरुले लुंगी लगाउने गर्छन् । त्यस्तै, महिलाहरूले गुन्यु (मसुरासित र छिटिया) र ब्लाउज आदि लगाउने गर्छन् । ब्लाउजलाई पनालो, कालो मसी, थेत्वाको धारो जस्ता नामले चिनिन्छ ।

पहिले पहिले यी सबै कपडाहरु भारतबाट ल्याउने गरिन्थे । किनकि बादी समुदायको अधिकांश पोसाक भारतीय पहिरनसँग मिल्दोजुल्दो देखिन्छ । अहिले यो समुदायका महिलाहरू म्याक्सी, कुर्था र धोती लगाउने गर्छन् । भने बाहिर जाँदा ब्लाउज र सारी सहित कुर्था सुरुवाल लगाउने गर्छन् । बादी बच्चाहरू भोटो, हाफ पाइन्ट र कच्छा लगाउने गर्छन् ।

विधवा वा विदुर बादीहरूको पोसाक संस्कारमा अहिले ठूलो भिन्नता आएको छ । पहिलेपहिले श्रीमती बितेका श्रीमान् र श्रीमान् बितेकी श्रीमतीले पहेँलो पोषाक लगाउते चलन थियो । तर अहिले उनीहरुले सधैंभरि सेतो कपडा लगाउने गर्छन् ।
विवाहित बादी महिलाहरूमा पनि ठूलो भिन्नता आएको छ । उनीहरू विवाह पछि चुरा पोते, सारी र ब्लाउजको साथमा धोती पनि लगाउँछन् । त्यसमाथि पटुका बेर्ने चलन छ । पटुका पनि १२ हाते वा त्यसभन्दा छोटोभन्नेमा भिन्नता आउँछ । उनीहरू सेतो कवाले भन्ने कपडा टाउकोमा बेर्छन् ।

उनीहरु विवाहको प्रतीक सिन्दुर सधैं लगाउँछन् । साथमा मंगलसूत्र पनि विवाहित महिलाको प्रतीक हो । अधिकांश गहनाहरू भारतीय महिलाले लगाउने गहनासँग मिल्दोजुल्दो हुन्छ ।

बादी समुदायले लगाउने गहनाहरू

बादी महिलाहरू प्राचीन समयदेखि नै आफ्नै विशेषताले युक्त गहनाहरू लगाउँछन् । पहिलेपहिले महिलाहरू तिलरी, फुली, बुलाकी, नौगेरी, जौगेरी, पाते सुन, मारवारी, तुक्की, पोते माला, प्वालाको माला र पैसाको माला लगाउँथे । यो गहना दाङ लगायतका बादी महिलाहरूमा पनि समान रहेको छ ।

अहिलेका महिलाहरू चेन, जुल, लस्कारी, मंगलसूत्र कानवाला तुक्की, तिरुली, टप लगायतका गहनाहरू लगाउँछन् । यसरी उनीहरूले लगाउने गहनामा समेत ठूलो भिन्नता आउने गरेको छ । वादी पुरुषहरू टाउकोमा सधैं टोपी लगाउँछन् । टोपी प्रायः ढाकाको हुन्छ र कहिलेकाहीँ सामान्य कपडाको पनि हुन सक्छ । उनीहरू घडी र हातमा बाला पहिरिन्छन् । केटाहरूले कानमा मुन्द्री लगाउँछन् । साथमा हातमा औंठी पनि लगाउँछन् । यी अधिकांश गहनाहरू आल्मोनियमको हुने गर्छन् । जसलाई स्थानीयले सिलबरको गहना भन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४