Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘गरिबलाई रुवाउने चाड नआइदिए पनि हुन्थ्यो’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ३० २०७७
  • 5.5K
    SHARES

कैलाली । कैलाली घोडाघोडी नगरपालिका १ लक्ष्मीपुरका अधिकांश घरहरूमा तिहारको रौनक छ । पक्की घरहरू रंगिएका छन् । कच्ची घर लिपपोत गरेर चिटिक्क पारिएको छ । तर गाउँको मध्यक्षेत्रमा रहेको मोहनवीर टमट्टाको घरमा भने सन्नाटा छ ।

हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारमा पनि उनको घरमा रौनक छैन । एक वर्ष पहिले क्यान्सरबाट बायाँ खुट्टा गुमाएका टमट्टाले त्यसपछि खुसीहरू पनि गुमाउन थाले । निकै कमजोर आर्थिक अवस्था हुँदा चार्डपर्वमा पनि उनलाई आधारभूत आवश्यकता पूरा गर्न सकस छ । दुई छोरी र श्रीमतीसँगै रहेका उनी चाडपर्वहरू नआइदिए हुन्थ्यो भन्छन् ।

लक्ष्मीपूजाको दिन उनको घरमा फाँडो (पिठो पकाएर बनाइने परिकार) पाकेको छ । ‘हामी त मिठो तरकारीसँग पनि भात खान पाउँदैनौं,’ फाँडो देखाउँदै उनले भने, ‘यस्ता पर्वहरू गरिबलाई रुवाउन आउँछन्, नआइदिए पनि हुन्थ्यो ।’

भारतको कालापहाडमा सडक निर्माणको मजदुरी गर्दासम्म उनले पनि परिवारलाई राम्रैसँग पालिरहेका थिए । तर, त्यहिँ काम गर्दा गर्दैगर्दा उनको खुट्टामा चोट लाग्यो । समयमा राम्रो उपचार गर्न नपाउँदा त्यो घाउले पछि क्यान्सरको रुप लियो । अनि उनको खुट्टा काटेर फाल्नु पर्यो ।

‘थोरै मात्र पैसा भइदिएको भएपनि समयमै उपचार गर्थें तर, उपचार गर्न नपाएर क्यान्सर भयो मैले खुट्टा गुमाएँ,’ उनी भावुक भए ।

त्यो बेला उपचार गर्दा लागेको १ लाख ५० हजार ऋण टमट्टा परिवारले अझैसम्म तिर्न सकेका छैनन् । मोहनवीर असक्त भएदेखि श्रीमती निर्मलाको टाउकोमा जिम्मेवारी थपिएको छ । उनी अहिले सामान्य मजदुरी गरेर परिवारको आवश्यकता टारिरहेकी छन् ।

‘उहाँ यस्तो भएदेखि हामीलाई निकै समस्या हुन थाल्यो,’ उनले भनिन्, ‘मैले काम गरेर ल्याएको पैसाले जेनतेन घर चलिरहेको छ ।’

दैनिक आवश्यकता पूरा गर्नै समस्या भइरहेको परिवारमा तिहारले थप पीडा लिएर आएको छ । ‘छोरा–छोरी मासु खाने भन्छन् । यहाँ आलु ल्याउने त पैसा छैन कसरी मासु खुवाउनु,’ निर्मला भावुक भइन् ।

आर्थिक अभावकै कारण दुई छोरी अझै विद्यालय जान पाएका छैनन् । उनले भनिन्, ‘सरकारी स्कुलमा पैसा लाग्दैन भन्छन् तर ड्रेस, कपि, किताब, पेन्सिल किनिदिने पनि पैसा छैन ।’

उनले दुई छाक टार्न नै समस्या भइरहेको बेला अन्य रहरहरू त सपनामात्रै हुने गरेको बताइन् । ‘अहिलेसम्म त जसोतसो दुई छाक खाइरहेका छौं, अब त त्यही पनि खान पाइँदैन कि भन्ने पिर छ,’ उनले सुनाइन् ।

‘दसैं–दिपावली आउँछ, सबैको घरमा मासु पाक्छ,  हाम्रो घरमा जुठो लागेको जस्तो हुन्छ,’ मोहनवीरले भने । उनले दसैंको दिन पनि घरमा मिठो परिकार पकाउन नपाएको बताए । ‘दसैंको दिन पनि घरमा मासु पाकेन,’ उनले भने, ‘तिहारमा त झन् भातसँग रसिलो तरकारी पाएका छैनन् ।’

टमट्टा भूमिहीन हुन् । उनी बस्दै आएको एउटा सानो घर पनि चर्किंदै गएको छ । घरभन्दा बढी उनीहरुको मन चर्किएको छ ।

राहत पाउँदाको खुसी

गरिबीले चुलो नबल्ने समस्या हुनथालेको देखेपछि टमट्टा परिवारलाई स्थानीय देवीराम भट्टराईले ब्यक्तिगत रकमबाट केही राहत दिए ।

केही नहुनेहरूको लागि हामी छौं अभियानमार्फत भट्टराई दम्पती उनको घरमै पुगेर चामल, दाल, नुन, तेल, स्वयाबिन, साबुन लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।

खाद्यान्नसँगै उनले आर्थिक सहयोग गर्दा टमट्टा दम्पती हर्षित बने । ‘हामीलाई ठूलो सहयोग गर्नुभयो, अब एक–दुई छाक भए पनि मिठो खान्छौं ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४