काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदैछ । रामचन्द्र पौडेल ले शीतल निवास मा आज दिउँसो बालेन्द्र शाह लाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार शपथ अघि नै नेता शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।
शपथ ग्रहण समारोह अपराह्नका लागि तय गरिएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने बताइएको छ ।
प्रधानमन्त्रीसँगै मन्त्री परिषद्का सदस्यहरूको पनि शपथ गराइने तयारी रहेको बुझिएको छ, जसले नयाँ सरकारको औपचारिक सुरुवातलाई संकेत गर्नेछ ।
यसअघि सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो । सोही दलले बिहीबार मात्रै बालेन्द्र शाह लाई संसदीय दलको नेता चयन गरेको थियो ।
निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजय हासिल गरेका थिए । त्यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नव निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।
नयाँ प्रधानमन्त्रीको शपथसँगै मुलुकमा नयाँ राजनीतिक अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।