काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक परम्परा सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्धमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गरी श्रद्धापूर्वक पितृलाई सम्मान गर्ने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) अनुसार आज सोह्र श्राद्धको पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने उल्लेख छ। समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान भने अपराह्नपछि गर्नुपर्ने शास्त्रीय विधान रहेको छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पर्ने विभिन्न तिथिमा दिवंगत पितृका लागि श्रद्धापूर्वक कर्म गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यस अवधिलाई पितृ पक्ष, अपर पक्ष तथा प्रेत पक्षका नामले समेत चिनिन्छ।
पितृप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्ने परम्परा
वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयागादि तथा ठूला धार्मिक एवं शुभकार्य सुरु गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। सोह्र श्राद्ध यही धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा हो।
धर्मशास्त्रीय मान्यताअनुसार यस अवधिमा दिवंगत पितृलाई तर्पण, पिण्डदान तथा सिदादान गरी श्रद्धा अर्पण गरिन्छ। पितृ पक्षमा आफ्ना दिवंगत पूर्वजलाई सम्झेर गरिने कर्मले पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास रहेको छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध पितृप्रतिको दायित्वसँग जोडिएको महत्वपूर्ण धार्मिक कर्म हो। शास्त्रीय मान्यताअनुसार यस अवधिमा श्राद्ध नगर्दा दोष लाग्ने विश्वासका कारण सनातन परम्परामा सोह्र श्राद्ध गर्ने प्रचलन रहँदै आएको उहाँ बताउनुहुन्छ।
अपराह्नमा श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता
धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्ध अपराह्न कालमा गर्नुपर्ने शास्त्रीय विधान रहेको छ। आफ्ना पिताको मृत्यु भएको तिथिका आधारमा सम्बन्धित तिथिमा श्राद्ध गर्ने परम्परा छ।
प्रा. डा. गौतमका अनुसार जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्र श्राद्ध रोक्नु नहुने शास्त्रीय मान्यता छ।
यद्यपि विभिन्न कारणले तोकिएको तिथिमा श्राद्ध गर्न नसक्ने अवस्था आएमा धर्मशास्त्रमा वैकल्पिक व्यवस्था पनि उल्लेख गरिएको छ।
रोकिएको श्राद्धका लागि विभिन्न विकल्प
धर्मशास्त्रअनुसार कुनै कारणवश आफ्नो पिताको तिथिमा श्राद्ध गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
उक्त अवधिमा समेत श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प रहेको बताइएको छ।
कार्तिक कृष्ण औँसीमा समेत गर्न नसकिने अवस्था भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म उपयुक्त समय मिलाएर श्राद्ध गर्न सकिने व्यवस्था धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ।
त्यस्तै, आश्विन शुक्ल पञ्चमीपछि पर्ने अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने विकल्प धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा. डा. भट्टराईका अनुसार निर्णयसिन्धु, धर्मसिन्धुलगायतका धर्मशास्त्रीय ग्रन्थमा यस्ता वैकल्पिक व्यवस्था उल्लेख छन्।
श्राद्ध गर्न नसक्नेका लागि जपको विकल्प
विभिन्न कारणले त्यसपछि पनि सोह्र श्राद्ध गर्न नसकिने अवस्था आएमा शास्त्रमा अर्को विकल्पसमेत उल्लेख गरिएको छ। प्रा. डा. भट्टराईका अनुसार यस्तो अवस्थामा सक्ने व्यक्तिले स्वयं र नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सक्ने व्यवस्था रहेको छ।
शास्त्रीय विधिअनुसार यस्तो जप १० महिनासम्म गर्नुपर्ने उल्लेख छ। यस विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
बिहानै श्राद्ध गर्ने विषयमा धर्मशास्त्रविद्को फरक मत
सोह्र श्राद्ध अपराह्न कालमा गर्नुपर्ने शास्त्रीय विधान रहेको भए पनि कतिपय स्थानमा पुरोहितहरूले आफूअनुकूल बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको जानकारी आउने गरेको धर्मशास्त्रविद्हरूले बताएका छन्।
धर्मशास्त्रविद्हरूका अनुसार पितृकर्मका लागि शास्त्रले तोकेको समयलाई ध्यान दिनुपर्ने हुन्छ। विशेषगरी श्राद्धको मुख्य कर्म तथा पिण्डदान अपराह्न कालमा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको उनीहरूको भनाइ छ।
सोह्र श्राद्धपछि बडादसैँ
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुने धार्मिक परम्परा छ। बडादसैँजस्ता ठूला पर्व तथा चाड मनाउनुअघि पितृलाई तृप्त पार्ने उद्देश्यले सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहँदै आएको छ।
पितृ पक्षलाई दिवंगत पूर्वजप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने समयका रूपमा लिइन्छ। यस अवधिमा देशका विभिन्न तीर्थस्थल, नदी, जलाशय तथा धार्मिक स्थलमा पुगेर तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुको समेत घुइँचो लाग्ने गर्छ।
यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले धार्मिक पात्रोअनुसार सोह्र श्राद्ध तथा बडादसैँ पर्वको समय केही पछि सरेको बताइएको छ।
पितृ पक्ष सुरु भएसँगै आजदेखि आफ्ना दिवंगत पितृको तिथिअनुसार परिवारजनले श्राद्ध, तर्पण, पिण्डदान तथा सिदादान गर्ने क्रम सुरु हुनेछ। धार्मिक आस्था र परम्पराअनुसार मनाइने यो पक्षले परिवार तथा समाजमा दिवंगत पूर्वजको स्मरण र सम्मान गर्ने संस्कारलाई निरन्तरता दिँदै आएको छ।