Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढीमा हालसम्म १ हजार ३९९ शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०८३
  • 836
    SHARES

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हराइरहेका मध्ये हालसम्म १ हजार ३९९ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि खोज तथा उद्धारका क्रममा उक्त संख्यामा शव फेला परेको हो।

फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला तथा ५१९ वटा आंशिक अंग रहेका छन्। बाढीको तीव्र बहाव र ठूलो क्षेत्र प्रभावित भएका कारण शव तथा मानव अंगहरू विभिन्न स्थानबाट फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि हालसम्म ४ हजार ८९ जना बेपत्ता छन्। बेपत्ता हुनेमा २ हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला रहेका छन्।

बाढीमा परी घाइते भएका तथा प्रभावितमध्ये ९ हजार २८७ जनाको उद्धार गरिएको प्रवक्ता काफ्लेले जानकारी दिएका छन्। उद्धार गरिएका व्यक्तिलाई उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक राहत उपलब्ध गराउने कामसमेत भइरहेको छ।

१ हजार २३० शव व्यवस्थापन

प्रहरीका अनुसार फेला परेका शवको पहिचान तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको प्रवक्ता काफ्लेले बताएका छन्।

शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि व्यवस्थापन गर्ने गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई भने सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ।

प्रवक्ता काफ्लेले भने, “फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ।”

डिएनए नमुना सङ्कलन तीव्र

बाढीमा बेपत्ता भएकाहरूको पहिचान गर्न प्रहरीले डिएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतकका शवबाट १ हजार २८६ तथा बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८८९ डिएनए नमुना सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

डिएनए नमुना परीक्षण तथा अन्य पहिचानका आधारमा फेला परेका शवको पहिचान गर्ने प्रक्रिया अघि बढिरहेको छ। ठूलो संख्यामा बेपत्ता रहेका कारण पहिचान प्रक्रिया जटिल र समय लाग्ने देखिएको छ।

झन्डै ८ हजार प्रहरी परिचालन

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीका अनुसार उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका काममा हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन भएका छन्।

प्रहरी टोलीले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, फेला परेका शव तथा मानव अंग संकलन, घाइतेको उद्धार, राहत वितरण तथा सुरक्षित स्थानमा स्थानान्तरणलगायतका काम गरिरहेको छ।

यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ४४० जना रहेको प्रहरीले जनाएको छ। बाढीबाट प्रभावित तथा जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका नागरिकलाई आवश्यक व्यवस्थापनसहित होल्डिङ सेन्टरमा राखिएको हो।

रसुवा बाढीपछि ठूलो मानवीय क्षति भएको अवस्थामा बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावितको पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ। प्रहरीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै बाँकी बेपत्ताको अवस्थाबारे जानकारी संकलन र सम्भावित स्थानमा खोजी अभियान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४