काठमाडौँ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमा हाल १ हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ। जिल्लामा खाद्यान्नको नियमित आपूर्ति भइरहेकाले तत्काल चामल अभाव हुने अवस्था नरहेको कार्यालयले जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले जुम्ला जिल्लाका लागि ५ हजार क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरेको छ। सोहीअनुसार खाद्यान्न आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित रूपमा अघि बढाइएको छ।
पछिल्लो समय नेपालगन्जबाट जुम्लातर्फ खाद्यान्न ढुवानीलाई तीव्रता दिइएकाले गोदाममा चामलको मौज्दात सन्तोषजनक अवस्थामा रहेको प्रमुख जोशीले बताए। नियमित ढुवानी भइरहेकाले उपभोक्ताको मागअनुसार चामल उपलब्ध गराउन सहज भएको कार्यालयको भनाइ छ।
दैनिक ९० क्विन्टलसम्म चामल बिक्री
जुम्लामा पछिल्लो समय चामलको माग बढेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख जोशीका अनुसार दैनिक करिब ९० क्विन्टल चामल बिक्री हुने गरेको छ।
स्थानीय बजारको तुलनामा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध हुने भएकाले खाद्य कम्पनीका बिक्री केन्द्रमा उपभोक्ताको आकर्षण बढेको कार्यालयले जनाएको छ। विशेषगरी चामलको माग पछिल्लो समय अत्यधिक बढेको बताइएको छ।
कम्पनीले उपभोक्तालाई राहत दिने उद्देश्यले आफ्नो वार्षिकोत्सवको अवसर पारेर साउन २८ गतेदेखि प्रतिक्विन्टल/बोरामा १२५ रुपैयाँ छुट उपलब्ध गराउँदै सहुलियत मूल्यको पसल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गर्दै आएको छ।
विभिन्न प्रकारका चामलमा सहुलियत मूल्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जुम्लामा विभिन्न प्रकारका चामल सहुलियत मूल्यमा बिक्री गरिरहेको छ। कम्पनीले तोकेको मूल्यअनुसार अरुवा मोटा चामल प्रतिबोरा १ हजार ४०० रुपैयाँ, अरुवा सोना मन्सुली १ हजार ४२५ रुपैयाँ, मध्यम चामल १ हजार ४५० रुपैयाँ तथा स्टिम जिरा चामल २ हजार १७५ रुपैयाँमा बिक्री भइरहेको छ।
सहुलियत पसलमार्फत उपभोक्ताले बजार मूल्यभन्दा तुलनात्मक रूपमा सस्तोमा खाद्यान्न खरिद गर्न पाउने भएकाले यसको माग बढेको कार्यालयले जनाएको छ।
चामलसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयबाट चिनी, भटमासको तेल र सूर्यमुखी तेलसमेत बिक्री वितरण हुँदै आएको छ।
खाद्यान्नको नियमित ढुवानीलाई निरन्तरता दिइएको र गोदाममा पर्याप्त मौज्दात रहेकाले उपभोक्ताको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सकिने कार्यालयले जनाएको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार नेपालगन्जबाट थप खाद्यान्न ढुवानी गरी जुम्लामा आपूर्ति सहज बनाउने तयारी गरिएको छ।