Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता “अपडेट”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०८३
  • 779
    SHARES

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ४ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीपछि ९ सय ७७ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले शुक्रबार सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ५ सय जनालाई बिहीबार मात्रै जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको थियो। सुरुङभित्र अझै केही व्यक्ति फसिरहेको र उनीहरूको उद्धारका लागि प्रयास भइरहेको डा. उप्रेतीले जानकारी दिनुभयो।

बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्यलाई तीव्रता दिन शुक्रबार बिहानैदेखि तीनवटा हेलिकप्टर परिचालन गरिएको छ। सडक सञ्जाल विच्छेद भएका तथा यातायातबाट पुग्न कठिन स्थानमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्‍याउन एक टनसम्म तौल बोक्न सक्ने ‘लिफ्टिङ ड्रोन’ प्रयोग गरिएको प्राधिकरणले जनाएको छ।

उद्धार तथा राहत कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीका टोली विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। उनीहरूलाई शव व्यवस्थापन, उद्धार तथा प्रभावित क्षेत्रमा आवश्यकताको पहिचान गर्ने जिम्मेवारी दिइएको छ। हेलिकप्टर सञ्चालनका लागि नुवाकोट स्टेशनबाट इन्धन आपूर्ति गर्ने व्यवस्था समेत मिलाइएको प्राधिकरणले जनाएको छ।

चितवनमा सबैभन्दा धेरै शव फेला

प्राधिकरणका अनुसार बाढीपछि फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १ सय ७८ जनाको रहेको छ। त्यसैगरी नवलपरासी पूर्वमा १ सय १०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।

कतिपय स्थानमा शवको सट्टा मानव अङ्ग मात्र फेला परेकाले मृतकको पहिचान गर्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ। ठूलो बाढी र त्यसबाट भएको क्षतिका कारण खोजी तथा पहिचानको काम चुनौतीपूर्ण बनेको छ।

सुरक्षाकर्मी र सरकारी कर्मचारी पनि बेपत्ता

बाढीपछि बेपत्ता हुनेमा सुरक्षाकर्मी तथा सरकारी कर्मचारीको संख्या पनि उल्लेख्य रहेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना अझै बेपत्ता छन्।

त्यस्तै, भन्सार कार्यालयका १५ जना र अध्यागमन कार्यालयका ४ जना कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।

सर्वसाधारणतर्फ रसुवाबाट १६१ जना र नुवाकोटबाट १ जना बेपत्ता भएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ।

७३ जना घाइतेको उपचार जारी

बाढीमा परी घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बेत्रावती क्षेत्रमा रहेका १७ जना घाइतेलाई तत्काल अक्सिजन आवश्यक परेकाले त्यसको व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम पनि जारी छ। उत्तरगया, डाँडागाउँ र किस्पाङ गाउँपालिकाको सीमा क्षेत्रमा करिब १ सय जना सुरक्षित अवस्थामा रहेका छन्।

त्यस्तै, लिरिङ्गे स्कुलमा करिब १ सय ५० जना मानिस सुरक्षित अवस्थामा रहेको प्राधिकरणले जनाएको छ। उनीहरूलाई त्रिशूली नदी पार गराएर सुरक्षित गन्तव्यतर्फ लैजाने काम भइरहेको छ।

प्रभावित क्षेत्रमा खाद्यान्न र राहत पुर्‍याउने प्रयास

प्राधिकरणका अनुसार २ सय १६ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजनामा रहेका व्यक्तिहरूका लागि खाद्यान्नको व्यवस्था मिलाइएको छ। प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री पुर्‍याउने कामलाई प्राथमिकतामा राखिएको छ।

यसैगरी नदी किनार तथा विभिन्न स्थानमा फेला परेका शवहरूको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ। बाढीबाट सडक तथा यातायातका संरचनामा क्षति पुगेका कारण केही प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ।

सडक सञ्जालबाट पुग्न नसकिने स्थानमा हेलिकप्टर र ड्रोनको प्रयोग गरी राहत सामग्री पुर्‍याउने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. उप्रेतीका अनुसार विपद् व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र २४ सै घण्टा परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकायलाई खोजी, उद्धार, राहत र शव व्यवस्थापनमा परिचालन गरिएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा लैजाने, घाइतेको उपचार गर्ने, राहत सामग्री पुर्‍याउने तथा बेपत्ताको खोजी गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४