Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रानाथारू समुदायमा मौलिक तिज: दाजुभाइको दीर्घायुको कामनासहित १५ दिनदेखि सुरु हुने अनौठो परम्परा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३१ २०८३
  • 361
    SHARES

काठमाडौं । छुट्टै पहिचान र समृद्ध मौलिक संस्कृति बोकेको रानाथारू समुदायले यस वर्ष पनि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा तिज पर्व विशेष उत्साहका साथ मनाएका छन्। अन्य समुदायको भन्दा फरक परम्परा रहेको यो समुदायमा तिज दाजुभाइ र भतिजाहरूको दीर्घायु, सुख, समृद्धि र प्रगतिको कामना गर्दै श्रावण शुक्ल तृतीयाका दिन निराहार व्रत बसेर मनाइन्छ।

अन्य नेपाली समुदायमा तिज प्रायः भाद्र शुक्ल तृतीयामा मनाइने भए पनि रानाथारू समुदायमा श्रावणमै तिज मनाउने परम्परा पुस्तौंदेखि चल्दै आएको छ। यस पर्वको तयारी भने तिज आउनुभन्दा १५ दिनअघि नै सुरु हुन्छ।

१५ दिनअघि नै सुरु हुन्छ तयारी

भीमदत्त नगरपालिका–१४ का रानाथारू संस्कृति जानकार पर्शुराम रानाका अनुसार तिजको निम्तो दिन दिदीबहिनीको घरमा पुग्ने चलन छ। यही समयदेखि गाउँमा ‘सावनकी डोला’ अर्थात् परम्परागत पिङ हाल्ने गरिन्छ, जसले सिंगो गाउँलाई पर्वमय बनाउँछ।

तिजका दिन व्रतालु महिलाहरूले पुरी, पापड, सेमइ, पकौडा, गुलगुलालगायत रानाथारू समुदायका विशेष परिकार तयार पारेर चेलीबेटी, छिमेकी र आफन्तलाई खुवाउने परम्परा पनि जीवित छ।

पानीसमेत नखाई निराहार व्रत

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीकी केशमती रानाका अनुसार रानाथारू महिलाहरू तिजमा पानीसमेत नपिई निराहार व्रत बस्छन्।

“साँझपख कुसको गाँठो पारेर चाँदीको सिक्काले काट्छौँ र नदीमा बगाउँछौँ। जसरी नदी लामो बग्छ, त्यसरी नै हाम्रो दाजुभाइको आयु पनि लामो होस् भन्ने कामना गर्छौँ,” उनले भनिन्।

समुदायमा नदीमा बगेको कुस जति टाढासम्म पुग्छ, दाजुभाइको आयु त्यति नै लामो हुने धार्मिक विश्वास रहिआएको छ।

माइतमा रमाइलो र पिङको उत्सव

तिजका अवसरमा विवाहित महिलाहरू माइत फर्केर परिवारसँग रमाइलो गर्ने चलन अझै कायम छ। भीमदत्त नगरपालिका–१६ की सोमन रानाका अनुसार महिलाहरू माइतमै बसेर व्रत बस्छन्, पिङ खेल्छन् र आफन्तसँग खुसी साटासाट गर्छन्।

“साउनको सुरुमा गाउँमा पिङ राखेर रमाइलो गर्छौँ। तिजको दिन दाजुभाइको दीर्घायुका लागि व्रत बस्छौँ र आफन्तलाई घरमा बोलाएर विभिन्न परिकार खुवाउने चलन छ,” उनले भनिन्।

खेतीपातीपछि थकाइ मेटाउने पर्व

रानाथारू समुदायमा तिज केवल धार्मिक पर्व मात्र होइन, खेतीपातीको मुख्य काम सकिएपछि सामूहिक रूपमा थकाइ मेटाउने अवसरका रूपमा पनि लिइन्छ। साउनभर मनाइने सावनकी डोला पर्वकै क्रममा तिज विशेष महत्वका साथ मनाइने गरेको समुदायका जानकारहरू बताउँछन्।

परम्परागत पिङ जोगाउन चुनौती

पहिले जंगलबाट ल्याइने काठका खम्बाले बनाइने पिङ अहिले वन क्षेत्रबाट काठ ल्याउन प्रतिबन्ध लागेपछि संकटमा परेको छ।

स्थानीय वसन्ती रानाका अनुसार अहिले फलामका दुई खम्बा प्रयोग गरेर पिङ निर्माण गरिएको छ। “काठका खम्बा र परम्परागत रस्सी जीर्ण भइसकेका छन्। नयाँ सामग्रीका लागि निकुञ्जसँग माग गरिरहेका छौँ,” उनले बताइन्।

चुनौतीबीच पनि रानाथारू समुदायको यो मौलिक तिज पर्व नयाँ पुस्ताको समेत आकर्षण बन्दै गएको स्थानीयहरूको भनाइ छ। परम्परा, संस्कृति र पारिवारिक सम्बन्धलाई जोड्ने यो पर्वले समुदायको विशिष्ट पहिचानलाई आज पनि जीवन्त राखिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४