काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकमा प्रभावकारी सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास र भरोसा जगाउनु वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताउनुभएको छ ।
ललितपुरमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति ढकालले देश एकैपटक समृद्ध बन्न नसक्ने र सुशासन पनि रातारात स्थापित नहुने बताउनुभयो । मुलुकमा सकारात्मक परिवर्तनका लागि निरन्तर प्रयास, संस्थागत सुधार र सबै पक्षको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो ।
सभापति ढकालले अहिलेको आवश्यकता एक–अर्कालाई दोषारोपण गर्नेभन्दा नागरिकमा आशा र विश्वास जगाउने खालका बहस तथा पैरवी अघि बढाउनु रहेको बताउनुभयो । राजनीतिक तथा सामाजिक क्षेत्रबाट हुने बहसले नागरिकमा निराशा थप्नेभन्दा उनीहरूलाई सकारात्मक परिवर्तनको अनुभूति गराउन सक्नुपर्ने उहाँको भनाइ थियो ।
विगतका प्रश्न र वर्तमानका चुनौती स्वीकार गर्नुपर्ने
सभापति ढकालले विगतमा आफूहरूले सरकार तथा राज्य संयन्त्रमाथि उठाएका प्रश्नहरू र अहिले जिम्मेवारीमा पुगेपछि आफैंले भोग्नुपरेका व्यावहारिक कठिनाइबीचको अन्तरलाई स्वीकार गर्नुभएको छ ।
उहाँले जिम्मेवारीमा पुगेपछि राज्य सञ्चालन, नीति कार्यान्वयन र सेवा प्रवाहमा विभिन्न व्यावहारिक चुनौती हुने अनुभव भएको उल्लेख गर्नुभयो । विगतमा उठाइएका प्रश्नको औचित्यसँगै अहिले देखिएका व्यवहारिक जटिलतालाई पनि बुझेर सुधारको बाटोमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
सभापति ढकालले सकारात्मक परिवर्तनका लागि कुनै एक व्यक्ति वा संस्थाको प्रयास मात्र पर्याप्त नहुने बताउँदै सबै पक्षको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रधानमन्त्री एक्लै होइनन् : ढकाल
सभापति ढकालले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै सरकारको नेतृत्व गर्ने व्यक्ति एक्लै नरहेको बताउनुभयो । प्रधानमन्त्रीलाई सहयोग गर्दै राज्यका विभिन्न संयन्त्र, संसद्, राजनीतिक दल र नागरिक समाजले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले वर्तमान कार्यकाललाई नागरिकमा सबैभन्दा ठूलो विश्वास पैदा हुने किसिमको बनाउनुपर्नेमा जोड दिनुभयो । सरकार तथा संसद्का कामबाट नागरिकले राज्यप्रति भरोसा गर्न सक्ने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँले बताउनुभयो ।
दैनिक उपभोग्य वस्तुको समस्याप्रति संवेदनशील
सभापति ढकालले नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको समस्या र सास्तीप्रति आफू संवेदनशील रहेको बताउनुभयो ।
महँगी, आपूर्ति तथा दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्याले नागरिकको राज्यप्रतिको धारणा प्रभावित गर्ने भएकाले सरकारले यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
नागरिकलाई आधारभूत आवश्यकता सहज रूपमा उपलब्ध गराउन नसक्दा सुशासनको अनुभूति गराउन कठिन हुने उल्लेख गर्दै उहाँले सरकारको कामको मूल्याङ्कन नागरिकको दैनिक जीवनमा आएको परिवर्तनबाट हुनुपर्ने बताउनुभयो ।
सरकार र सदन दुवैले भरोसा जित्नुपर्ने
सभापति ढकालले वर्तमान कार्यकालमा सरकार र सदन दुवैले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
राज्यका निकायबीच प्रभावकारी समन्वय, पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सुधारमार्फत नागरिकको विश्वास बढाउन सकिने उहाँले बताउनुभयो । नागरिकले राज्यका संस्थाबाट निष्पक्ष र प्रभावकारी सेवा पाएको अनुभूति गर्न सकेमा मात्र सुशासनको आधार बलियो हुने उहाँको भनाइ थियो ।
राम्रा कामलाई निरन्तरता, कमजोरी सुधार्नुपर्ने
सभापति ढकालले विगतमा भएका सबै काम नराम्रा मात्र नभएको स्पष्ट पार्नुभयो । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी र त्रुटिलाई सुधार गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले परिवर्तनका नाममा विगतका सबै संरचना तथा कामलाई अस्वीकार गर्नेभन्दा राम्रा अभ्यासलाई संस्थागत गर्दै कमीकमजोरी सच्याउने नीति लिनुपर्ने धारणा राख्नुभयो ।
देशमा सुशासन र समृद्धि हासिल गर्न लामो समय लाग्ने भएकाले तत्काल परिणाम नआए पनि निरन्तर सुधारको प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नागरिकमा आशा र विश्वास कायम राख्दै राज्यका संस्थालाई थप प्रभावकारी बनाउनु नै वर्तमान समयको महत्वपूर्ण जिम्मेवारी भएको उहाँको भनाइ थियो ।