काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीको कारबाहीबाट राज्यकोषमा २० लाख चार हजार १४ रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन गर्ने चालकमाथि नियमित अनुगमनका क्रममा कारबाही गरिएको हो। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दैनिक रूपमा निगरानी र जाँचलाई कडाइ गरिएको कार्यालयले जनाएको छ।
कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६१ जना रहेका छन्। त्यस्तै नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ६१ जना तथा तीव्र गतिमा सवारी चलाउने ११३ जनामाथि कारबाही गरिएको छ।
यसैगरी लेन अनुशासन पालना नगर्ने १०७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९३ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ९६ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसबाहेक अन्य विभिन्न प्रकारका सवारी नियम उल्लङ्घन गर्ने एक हजार २५६ जना चालक पनि कारबाहीमा परेका छन्। यससँगै पछिल्लो २४ घण्टामा कारबाहीमा पर्ने चालकको कुल संख्या दुई हजार पुगेको छ।
ट्राफिक प्रहरीले सवारी चालकलाई मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक सङ्केत र लेन अनुशासनको पालना गर्न, तोकिएको गतिमा सवारी चलाउन तथा सडक सुरक्षा सम्बन्धी सबै नियमको पालना गर्न आग्रह गरेको छ। नियमको पालना गर्दा दुर्घटना न्यूनीकरण हुनुका साथै सुरक्षित र व्यवस्थित यातायात व्यवस्था कायम गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ।
कार्यालयले आगामी दिनमा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध नियमित अनुगमन र कारबाहीलाई थप कडाइका साथ निरन्तरता दिने जनाएको छ।