चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी राष्ट्रिय सम्मेलन आज चितवनको माडीमा सुरु भएको छ । बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा सम्मेलन आयोजना गरिएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा राष्ट्रिय निकुञ्जका प्रमुख, बागमती प्रदेशअन्तर्गतका डिभिजन वन कार्यालय प्रमुखहरू, वन्यजन्तु संरक्षण विभागका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, वन्यजन्तु संरक्षण क्षेत्रमा सक्रिय विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा विज्ञसहित २०० भन्दा बढीको सहभागिता रहेको छ ।
सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, संरक्षणमा देखिएका चुनौती तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल गरिने प्रमुख आचार्यले जानकारी दिए । उनले सालक संरक्षणलाई प्रदेशस्तरमा प्राथमिकताका साथ अघि बढाउन यस सम्मेलनले महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा सालकलाई बागमती प्रदेशको सशक्त संरक्षण प्रतीकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । पछिल्ला वर्षहरूमा चोरी सिकारी, अवैध व्यापार तथा बासस्थान विनाशका कारण सालक लोपोन्मुख अवस्थामा पुगेको विज्ञहरूले बताएका छन् । किसानको साथीका रूपमा परिचित सालकले बालीनालीमा हानिकारक कीरोफट्याङ्ग्रा खाने भएकाले कृषि तथा पारिस्थितिकीय सन्तुलन कायम गर्न यसको भूमिका महत्वपूर्ण मानिन्छ ।
प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन सुरु गरिसकेको जनाएको छ । आगामी वर्षदेखि थप योजनाबद्ध तथा नियमित संरक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी बागमती प्रदेश सरकारको रहेको बताइएको छ ।
सालक स्तनधारी जनावर हो र विश्वभर आठ प्रजातिका सालक पाइन्छन् । नेपालमा भने कालो (चाइनिज) र तामे (इन्डियन) गरी दुई प्रजाति पाइने तथ्याङ्क छ । नेपालका ६१ जिल्लामा यसको उपस्थिति रहेको र बागमती प्रदेशका सबै जिल्लामा सालक पाइने गरेको सम्बन्धित निकायले जनाएको छ ।
वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालकको चोरी सिकारी वा अवैध व्यापारमा संलग्न हुनु गम्भीर अपराध मानिन्छ । दोषी ठहर भएमा रु १० लाखसम्म जरिवाना तथा १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
सालक निर्दोष र पारिस्थितिकीय दृष्टिले अत्यन्त महत्वपूर्ण जनावर भएकाले यसको संरक्षणबारे आम नागरिकमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । यसैबीच सम्मेलनले आजै सालक संरक्षणसम्बन्धी भावी नीतिगत दिशानिर्देश समेटिएको ‘माडी घोषणापत्र’ जारी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।