काठमाडौँ । म्याग्दी जिल्लामा यस वर्ष रु ३१ करोड ६० लाख बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो र यस वर्ष जिल्लाभर ४३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ। प्रतिहेक्टर १०.०५ मेट्रिक टनको दरले कुल ४,५१५ मेट्रिक टन उत्पादन भएको कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए।
‘जिल्लाका विभिन्न बगैँचाबाट उत्पादन कटानी गरेर तथ्याङ्क सङ्कलन गरिएको छ,’ बाँस्तोलाले बताए। किसानले सरदर प्रतिकिलो रु ७० का दरले बिक्री गरेका छन्।
म्याग्दीमा सुन्तलाको कुल बगैँचा क्षेत्रफल ८३५ हेक्टर रहेको छ। गतवर्ष ४२५ हेक्टरमा प्रतिहेक्टर ११.२५ मेट्रिक टन उत्पादनका दरले ४,७८१ मेट्रिक टन उत्पादन भएको थियो र मूल्य रु ३४ करोड रहेको थियो।
यस वर्षको उत्पादन गत वर्षको तुलनामा ५.५६ प्रतिशतले घटेको देखिएको छ। बाँस्तोलाले भने, ‘यस वर्ष रोगकीरा नभएको र विपद्ले क्षति नगरे पनि बोटमा दाना पातलो लागेका कारण उत्पादन घटेको हो। सुन्तलाखेतीमा एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने प्राकृतिक विशेषता भएकाले यस्तो उतार–चढाव देखा पर्छ।’
यद्यपि, जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको छ। गत वर्ष प्रतिकिलो रु ६५ मा बिक्री भएको सुन्तला यस वर्ष प्रतिकिलो रु ७० मा बिक्री भएको जानकारी छ।
सुन्तला बगैँचा जिल्लाका विभिन्न वडाहरूमा फैलिएका छन्, जसमध्ये राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ, तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी बगैँचा रहेका छन्।
जिल्ला सदरमुकाम बेनीका साथै काठमाडौँ, पोखरा, मुग्लिङ जस्ता बजारमा पनि सुन्तला बिक्री भइरहेको छ। मङ्गला गाउँपालिका–३ भोर्लेनीका किसान ओम गिरीले आफ्नो बगैँचाबाट यस वर्ष रु ११ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताए।
यातायात सुविधा भएकाले व्यापारीहरू गाडी लिएर बगैँचामा नै आएर सुन्तला खरिद गर्ने गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा किसानलाई सहयोग गर्दै आएका छन्।
यसले म्याग्दीका किसानहरूलाई आर्थिक लाभ दिने र जिल्लाको कृषि उत्पादनमा विविधता कायम राख्ने अपेक्षा गरिएको छ।