Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा आज उम्मेदवारी मनोनयन, सभापति सहित केन्द्रीय सदस्य सम्मको लागि प्रतिस्पर्धा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०८३
  • 266
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। संशोधित निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।

आज हुने मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा निर्वाचनको चरणमा प्रवेश गर्नेछ। सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत महत्वपूर्ण पदमा उम्मेदवारी दर्ता हुने भएकाले महाधिवेशनको निर्वाचन प्रक्रियालाई चासोका साथ हेरिएको छ।

निर्वाचन समितिका अनुसार आज सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३ र सहमहामन्त्री १५ पदका लागि उम्मेदवारी दर्ता हुनेछ।

उपसभापति र महामन्त्रीमा समावेशी व्यवस्था

कांग्रेसको संशोधित विधानअनुसार उपसभापतिका चार पदमध्ये एक पदमा महिला र एक पदमा समावेशी समूहबाट प्रतिनिधित्व अनिवार्य गरिएको छ। त्यस्तै, महामन्त्रीका तीन पदमध्ये एक पद महिला हुनुपर्ने व्यवस्था गरिएको छ।

सहमहामन्त्रीतर्फ विभिन्न समावेशी समूहबाट ९, खुलातर्फ ४ र मनोनयनबाट २ गरी कुल १५ पदको व्यवस्था गरिएको छ। विभिन्न समूहलाई केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले विधानमा पदगत तथा समावेशी संरचना निर्धारण गरिएको कांग्रेसले जनाएको छ।

२९७ सदस्यीय केन्द्रीय कार्यसमिति

कांग्रेसको संशोधित विधानअनुसार नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। निर्वाचित तथा मनोनीत सदस्यसहित केन्द्रीय कार्यसमितिको संरचना निर्धारण गरिएको छ।

विधानअनुसार खुलातर्फ ४५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने महिलातर्फ १५ जना सदस्य निर्वाचित हुने व्यवस्था छ। त्यस्तै सातै प्रदेशबाट चार–चार जनाका दरले २८ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रदेशगत प्रतिनिधित्वमा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना महिला अनिवार्य गरिएको छ।

यसैगरी काठमाडौं उपत्यकाबाट दुई जना, दलिततर्फ १४, आदिवासी जनजातितर्फ २०, खस–आर्यतर्फ १८, मधेसीतर्फ १३ तथा जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

पिछडिएको क्षेत्रबाट तीन, थारू समुदायबाट छ, श्रमिकतर्फ तीन, पेसागत विज्ञतर्फ सात तथा ३५ वर्षमुनिका युवातर्फ २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडित समूहबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

६६ सदस्य मनोनयनबाट आउने

कांग्रेसको संशोधित विधानअनुसार ६६ जना केन्द्रीय सदस्य भने मनोनयनबाट आउनेछन्। यसरी निर्वाचित तथा मनोनीत सदस्यसहित नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ।

समावेशी समूहअन्तर्गत महिला प्रतिनिधित्वलाई समेत सुनिश्चित गरिएको छ। विभिन्न समुदाय, क्षेत्र, वर्ग तथा समूहको प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने गरी नयाँ व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनयन गरिने व्यवस्था छ। यसका कारण कोषाध्यक्ष पदका लागि छुट्टै निर्वाचन नहुनेछ।

मनोनयनपछि दाबी–विरोध

आज दिउँसो ३ बजे उम्मेदवारी मनोनयन दर्ताको समय सकिएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्नेछ।

त्यसपछि अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ। प्राप्त दाबी–विरोधमाथि साँझ ५ः३० बजेदेखि ६ः३० बजेसम्म छलफल तथा आवश्यक निर्णय गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

दाबी–विरोधमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

यससँगै निर्वाचन समितिले उम्मेदवारको विवरणलाई अन्तिम रूप दिने प्रक्रियातर्फ अघि बढ्नेछ। उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनलगायतका बाँकी प्रक्रिया पनि निर्धारित कार्यतालिकाअनुसार सञ्चालन हुनेछन्।

नेतृत्वका आकांक्षीहरू चुनावी मैदानमा

कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दिने तयारी गरेका विभिन्न समूह र नेताहरूले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। कतिपय समूहले पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि आफ्नो टिमसमेत सार्वजनिक गरेका छन्।

आज हुने औपचारिक मनोनयनपछि कुन–कुन पदमा कति उम्मेदवार प्रतिस्पर्धामा छन् भन्ने स्पष्ट हुनेछ। उम्मेदवारी दर्ता र दाबी–विरोधको प्रक्रिया पूरा भएपछि निर्वाचनको वास्तविक प्रतिस्पर्धात्मक चित्र थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

कांग्रेसको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचनमा देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।

आजको उम्मेदवारी मनोनयनसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गर्नेछ। सभापतिदेखि सहमहामन्त्री र विभिन्न समावेशी समूहका केन्द्रीय सदस्य पदमा हुने प्रतिस्पर्धाले आगामी केन्द्रीय कार्यसमितिको संरचना निर्धारण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४