काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो नेतृत्वमा रहेको सरकारले पछिल्लो छ महिनामा गरेका काम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय समितिको बैठकले सरकारको समग्र कामको समीक्षा गर्दै सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको र सुशासनको आधारशिला निर्माण गर्ने दिशामा अघि बढिरहेको निष्कर्ष निकालेको हो।
यद्यपि, सरकारले हासिल गरेका उपलब्धिलाई थप प्रभावकारी बनाउन आगामी दिनमा कामको गति बढाउनुपर्नेमा पार्टी नेतृत्व र केन्द्रीय समिति एकमत भएको छ। सरकारको कामप्रति सकारात्मक धारणा राख्दै बैठकले परिणाम देखिने गरी कार्यसम्पादनलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याएको हो।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सरकारले नियत सफा राखेर काम गरिरहेको र सुशासनको आधार निर्माण गर्ने प्रयास गरिरहेको विषयमा पार्टीभित्र सकारात्मक धारणा रहेको छ। तर, सरकारका कामको प्रभाव जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनको गति अझै बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए।
उनका अनुसार पार्टीले सरकारको कामलाई सकारात्मक रूपमा मूल्याङ्कन गरे पनि आगामी छ महिनालाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ।
“सरकारले राम्रोसँग काम गरिरहेको छ, नियत सफा राखेर काम गरिरहेको छ र सुशासनको आधारशिला बनाएको छ भन्ने कुरामा पार्टी सहमत छ,” प्रवक्ता खरेलले भने, “तर यसको गतिलाई अझै बढाउनुपर्छ। त्यो गति बढाउने कुरामा पार्टीको तर्फबाट पनि सरकारलाई सहयोग गर्नुपर्छ भन्नेमा केन्द्रीय समिति एकमत छ।”
सरकारले आगामी छ महिनामा आफ्नो कार्यसम्पादनलाई थप तीव्र बनाउन सक्ने र त्यसका लागि पार्टीको सम्पूर्ण पंक्तिले आवश्यक सहयोग गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ। पार्टी सभापति रवि लामिछानेले समेत सरकारका कामलाई प्रभावकारी बनाउन पार्टी संगठनले सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखेको प्रवक्ता खरेलले जानकारी दिए।
‘हामी आउँदै छौँ’ अभियान सञ्चालन हुने
सरकारको कामको समीक्षा गर्नुका साथै रास्वपाले संगठन विस्तार र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई थप मजबुत बनाउने निर्णयसमेत गरेको छ। पार्टीले आगामी असोज २० गतेदेखि ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
अभियानअन्तर्गत पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ। जिम्मेवारी प्राप्त गरेका नेताहरू सम्बन्धित जिल्लामा पुगेर स्थानीय पार्टी संगठन, नेता–कार्यकर्ता तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र अभियानका कार्यक्रमको नेतृत्व गर्ने तयारी गरिएको छ।
रास्वपाका अनुसार अभियानको मुख्य उद्देश्य स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्नुका साथै जनताका सुझाव, समस्या, गुनासा र अपेक्षालाई प्रत्यक्ष रूपमा संकलन गर्नु हो।
पार्टीले स्थानीय तहमा आफ्नो उपस्थिति थप सुदृढ गर्न अभियानलाई संगठन विस्तारसँग जोडेको छ। जिल्लामा पुग्ने पार्टीका प्रतिनिधिहरूले स्थानीय अवस्था बुझ्ने, जनतासँग अन्तरक्रिया गर्ने तथा पार्टी संगठनको अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ।
यस अभियानमार्फत पार्टी र जनताबीचको दूरी घटाउने तथा स्थानीय तहमा संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको रास्वपाले जनाएको छ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन
रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेदवार छनोट समिति पनि गठन गरेको छ। सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको हो।
समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन्।
समितिमा सातै प्रदेशका सभापतिलाई पदेन सदस्य रहने व्यवस्था गरिएको छ। त्यसबाहेक केही सदस्य भने पछि मनोनयन गर्न बाँकी रहेको प्रवक्ता खरेलले जानकारी दिएका छन्।
उम्मेदवार छनोट समितिले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीबाट सम्भावित उम्मेदवारको छनोट तथा सम्बन्धित प्रक्रियालाई अघि बढाउनेछ। यससँगै रास्वपाले स्थानीय तह निर्वाचनको तयारीलाई संगठन विस्तार अभियानसँग समेत जोडेर अघि बढाउने संकेत गरेको छ।
सरकारलाई सहयोग र संगठन विस्तारमा जोड
केन्द्रीय समिति बैठकले सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। त्यसैगरी संगठन विस्तारलाई तीव्रता दिने तथा जनतासँग प्रत्यक्ष संवाद बढाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
पार्टीले सरकार सञ्चालनसँगै संगठन निर्माण र आगामी निर्वाचनको तयारीलाई समानान्तर रूपमा अघि बढाउने रणनीति लिएको देखिन्छ। ‘हामी आउँदै छौँ’ अभियानमार्फत स्थानीय तहसम्म संगठन विस्तार गर्ने र जनताका सुझाव तथा गुनासा संकलन गर्ने तथा उम्मेदवार छनोट समितिमार्फत स्थानीय तह निर्वाचनको तयारी अघि बढाउने निर्णयले रास्वपाले आगामी राजनीतिक गतिविधिलाई थप व्यवस्थित बनाउन खोजेको देखिन्छ।
बैठकले सरकारका काममा आवश्यक सहयोग गर्दै आगामी दिनमा परिणाममुखी कार्यसम्पादनमा जोड दिने, संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने र निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
यससँगै रास्वपाले सरकारको कार्यसम्पादन, संगठन विस्तार र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई आफ्नो आगामी राजनीतिक कार्यदिशाका प्रमुख विषयका रूपमा अघि सारेको छ।