काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको छ।
महाशाखाका अनुसार उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ। यसका कारण नेपालमा पनि मौसम बदली तथा वर्षाको गतिविधि बढ्न सक्ने देखिएको छ।
बुधबार बिहान देशको हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
बुधबार दिउँसो भने देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण पहाडी तथा भिरालो भू–भागमा पहिरो, गेग्रान बहाव तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
बुधबार राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसम प्रणाली सक्रिय भइरहेका कारण विशेषगरी भारी वर्षाको सम्भावना भएका क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन तथा नदी, खोला र कमजोर भौगोलिक क्षेत्र आसपास बसोबास गर्नेले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
वर्षाका कारण सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने भएकाले सम्बन्धित यात्रु तथा सर्वसाधारणले आफ्नो गन्तव्यतर्फको मौसम र यातायात अवस्थाबारे आवश्यक जानकारी लिएर यात्रा गर्नु उपयुक्त हुनेछ।
महाशाखाले मौसमको अवस्था परिवर्तन भइरहन सक्ने भएकाले नियमित मौसम पूर्वानुमान तथा चेतावनीसम्बन्धी सूचना हेर्नसमेत आग्रह गरेको छ।