काठमाडौं । इटालीको क्लब युभेन्टसले यूईएफए युरोपा लिगमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा युभेन्टसले डच टोली एनईसी निजमेगेनलाई ५–० गोल अन्तरले पराजित गरेको हो।
शुक्रबार बिहान युभेन्टसको घरेलु मैदान एलियान्ज रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्दै एकतर्फी जित निकालेको हो।
युभेन्टसका लागि निकोलस गोन्जालेज, केरिम अलाजबेगोभिच, निक वोल्टमेड, जेकी सेलिक र रान्डल कोलो मुआनीले एक–एक गोल गरे।
खेलको ९औँ मिनेटमै निकोलस गोन्जालेजले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। प्रारम्भिक अग्रतापछि घरेलु टोलीले खेलमा आफ्नो दबाब थप बढाउँदै लगेको थियो।
त्यसको २४औँ मिनेटमा केरिम अलाजबेगोभिचले गोल गर्दै युभेन्टसको अग्रता २–० मा पुर्याए। पहिलो हाफमै दुई गोलको अग्रता बनाएपछि युभेन्टसले दोस्रो हाफमा पनि निरन्तर आक्रमण गर्दै थप तीन गोल गरेको थियो।
दोस्रो हाफमा निक वोल्टमेड, जेकी सेलिक र रान्डल कोलो मुआनीले गोल थपेपछि युभेन्टसले ५–० को फराकिलो जित सुनिश्चित गर्यो।
यससँगै युभेन्टसले युरोपा लिगको पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै तीन अंक हासिल गरेको छ। एनईसी निजमेगेन भने पाँच गोलको हारसँगै प्रतियोगितामा कठिन सुरुवात गर्न बाध्य भएको छ।