भक्तपुर । गृहमन्त्री सुधन गुरुङले मंगलबार भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको स्थलगत अवलोकन गर्नुभएको छ। उहाँले दमकलको वर्तमान अवस्था, अग्नि नियन्त्रणका लागि आवश्यक स्रोतसाधन तथा कार्यालयका समस्याबारे जानकारी लिनुभएको हो।
जुद्ध बारुण यन्त्र कार्यालय पुगेका गृहमन्त्री गुरुङलाई कार्यालय प्रमुख विजय धौभडेलले कार्यालयमा रहेका दमकल तथा अग्नि नियन्त्रणका लागि उपलब्ध उपकरणको अवस्था र आवश्यकताबारे जानकारी गराउनुभएको थियो।
अवलोकनका क्रममा गृहमन्त्री गुरुङले आगलागी नियन्त्रणका लागि पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गर्दै ड्रोन प्रविधिलाई समेत अग्नि नियन्त्रणमा प्रयोग गर्न सकिने बताउनुभयो। अग्ला भवन तथा कठिन स्थानमा हुने आगलागी नियन्त्रणका लागि आधुनिक प्रविधि उपयोगी हुन सक्ने भन्दै सरकारले यसतर्फ ध्यान दिने उहाँको भनाइ थियो।
गृहमन्त्री गुरुङले दमकलको अवस्थाका बारेमा समेत चासो राख्दै कार्यालयले सामना गरिरहेका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको थियो। आगलागी तथा विपद्का घटनामा तत्काल उद्धार र नियन्त्रणका लागि अग्नि नियन्त्रक तथा दमकल सेवाको क्षमता मजबुत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
दुईवटा ड्रोन ल्याउन आग्रह
कार्यालय प्रमुख धौभडेलले भक्तपुरमा अग्नि नियन्त्रण सेवालाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधि र उपकरण आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार बेल्जियमको एक समूहले अग्नि नियन्त्रकहरूलाई तालिम दिँदै आएको छ।
धौभडेलले विशेषगरी अग्ला स्थानमा हुने आगलागी नियन्त्रण तथा अवस्थाको निगरानीका लागि कम्तीमा दुईवटा ड्रोन उपलब्ध गराउन सके काममा सहज हुने बताउनुभयो।
उहाँका अनुसार ड्रोनको प्रयोगबाट अग्नि नियन्त्रकले प्रत्यक्ष रूपमा पुग्न कठिन हुने अग्ला तथा जोखिमपूर्ण स्थानमा लागेको आगोको अवस्था पहिचान गर्न तथा नियन्त्रणको रणनीति बनाउन सहयोग पुग्नेछ।
यस वर्ष सरकारले प्रविधि तथा आवश्यक उपकरण खरिदका लागि रु. ९४ लाख बजेट विनियोजन गरेको जानकारीसमेत दिइएको छ। उपलब्ध बजेटबाट कार्यालयको आवश्यकताअनुसार आधुनिक उपकरण खरिद तथा सेवा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।
कार्यालय प्रमुख धौभडेलले पुराना दमकललाई संरक्षण गरी सङ्ग्रहालय निर्माण गर्न तथा कार्यालयमा रहेको जनशक्तिको समस्या समाधान गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। पुराना दमकल तथा अग्नि नियन्त्रणका उपकरणको ऐतिहासिक महत्व रहेकाले तिनलाई संरक्षण गरेर संग्रहालयका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो।
नवदुर्गा मन्दिर पुगेर खमेयबारे जानकारी
जुद्ध बारुण यन्त्र कार्यालयको अवलोकनपछि गृहमन्त्री गुरुङ मंगलबार राति भक्तपुरकै नवदुर्गा मन्दिर पुग्नुभएको थियो। उहाँले नवदुर्गा मन्दिरमा दसैँको नवमीका दिन राति बलि दिइने खमेय (राँगो) का बारेमा जानकारी लिनुभएको थियो।
सो क्रममा नवदुर्गा देवगणका तर्फबाट नारायण वनमालाले नवदुर्गा जात्रा तथा पर्व सञ्चालनका लागि सरकारले आवश्यक चासो र सहयोग दिनुपर्ने बताउनुभएको थियो।
भक्तपुरको मौलिक संस्कृति, परम्परा तथा जात्राको संरक्षणमा राज्यको भूमिका महत्वपूर्ण हुने भन्दै देवगणका तर्फबाट जात्रा सञ्चालनका क्रममा आवश्यक सहयोग र व्यवस्थापनका विषयमा समेत ध्यान दिन आग्रह गरिएको थियो।
कमलविनायक र कमलपोखरीको पनि अवलोकन
गृहमन्त्री गुरुङले भक्तपुरको कमलविनायक बजार र कमलपोखरी क्षेत्रको समेत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा स्थानीय क्षेत्रको अवस्था, पूर्वाधार तथा जनसरोकारका विषयमा जानकारी लिनुभएको थियो।
सो अवसरमा संघीय सांसद रुकेश रञ्जित, गंगालक्ष्मी अवाललगायतले गृहमन्त्री गुरुङलाई भक्तपुरको समग्र अवस्था तथा स्थानीयस्तरमा देखिएका विभिन्न समस्या र आवश्यकताबारे जानकारी गराउनुभएको थियो।
भक्तपुरको सुरक्षा, विपद् व्यवस्थापन, अग्नि नियन्त्रण तथा सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा स्थलगत जानकारी लिने क्रममा गृहमन्त्रीले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।