Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तिब्बततर्फकाे बाढीमा परी ५ सय ४६ बेपत्ता, १०४ जना नेपालका


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०८३
  • 760
    SHARES

एजेन्सी । चीनको तिब्बतस्थित केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोमा परी ५ सय ४६ जना बेपत्ता भएका छन्। चिनियाँ राज्य–नियन्त्रित टेलिभिजनका अनुसार बेपत्ता हुनेमध्ये २ सय ६१ जना २३ देशका विदेशी नागरिक रहेका छन्।

चिनियाँ विदेश मन्त्रालय, जनसुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायहरूको संयुक्त छानबिनपछि बेपत्ता व्यक्तिको पछिल्लो तथ्यांक सार्वजनिक गरिएको हो। चीन सरकारले सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगलाई घटनाबारे आधिकारिक जानकारी गराइसकेको जनाएको छ।

सार्वजनिक गरिएको देशगत विवरणअनुसार बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नेपाली नागरिक रहेका छन्। तथ्यांकअनुसार नेपालका १०४ जना, भारतका ४९ जना, लात्भियाका ३३ जना, अमेरिकाका १८ जना र बेलायतका १५ जना बेपत्ता छन्।

त्यस्तै, अस्ट्रेलिया र क्यानडाका ६–६ जना, दक्षिण अफ्रिकाका ४ जना तथा मलेसिया, जर्मनी र रुसका ३–३ जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

आयरल्यान्ड, एस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २–२ जना तथा फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हङ्गेरीका १–१ जना नागरिक बेपत्ता रहेको विवरणमा उल्लेख छ।

चीन सरकारको आधिकारिक तथ्यांकअनुसार केरुङ क्षेत्रमा बाढी तथा पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ।

बाढी र पहिरोका कारण सञ्चार सम्पर्क विच्छेद हुनुका साथै हिमाली भू–भागमा रहेका सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार कार्यमा ठूलो चुनौती देखिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

दुर्गम तथा जोखिमपूर्ण क्षेत्रमा उद्धार टोली पुग्न कठिन भएपछि चीनले ड्रोन प्रविधिसहित विशेष उद्धार टोली परिचालन गरेर रातदिन खोजी कार्य जारी राखेको जनाएको छ। सम्भावित स्थानमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि आधुनिक प्रविधिको समेत प्रयोग भइरहेको बताइएको छ।

केरुङ नेपालसँग जोडिएको प्रमुख सीमा क्षेत्र भएकाले घटनामा नेपाली नागरिकको ठूलो संख्या बेपत्ता भएको विवरण सार्वजनिक भएपछि नेपालमा समेत चासो बढेको छ। बेपत्ता नेपाली नागरिकको पहिचान, उनीहरू कुन स्थानमा थिए र उद्धारको अवस्था के छ भन्ने विषयमा थप विवरण प्राप्त हुन बाँकी छ।

चिनियाँ अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेकाले बेपत्ता व्यक्तिको संख्या तथा घटनाबाट भएको क्षतिको विवरणमा थप परिवर्तन हुन सक्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४