Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा १५५ जोखिमयुक्त रुख व्यवस्थापन, ११ हजार ८०९ क्युफिट काठ सङ्कलन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ४ २०८३
  • 1.2K
    SHARES

चितवन । डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा जनधन तथा भौतिक संरचनाको सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा रहेका जोखिमयुक्त रुख व्यवस्थापन गरेको छ। सडक, सुरक्षा निकायका परिसर, विद्युत् प्रसारण लाइन तथा अन्य संवेदनशील क्षेत्र आसपास रहेका जोखिमयुक्त रुख हटाइएको हो।

कार्यालयका अनुसार जिल्लाका १३ प्रमुख स्थान तथा सडकखण्डबाट गरी १५५ वटा जोखिमयुक्त रुख व्यवस्थापन गरिएको छ। ती रुख हटाउने क्रममा १ हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ हजार ८०९ दशमलव ६२ क्युफिट काठ र १६ दशमलव ४५ चट्टा दाउरा सङ्कलन भएको छ।

डिभिजन वन कार्यालय, चितवनका वन अधिकृत दिनेश हुमागाईंका अनुसार सडक तथा पूर्वाधारको सुरक्षा, सर्वसाधारणको आवतजावतमा सहजता र सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि जोखिमयुक्त रुख व्यवस्थापनलाई प्राथमिकता दिइएको हो।

आपटारी–देवघाट सडकखण्डमा सबैभन्दा धेरै रुख हटाइयो

भरतपुरको आपटारी–देवघाट सडकखण्डबाट सबैभन्दा धेरै २५ वटा जोखिमयुक्त रुख हटाइएको कार्यालयले जनाएको छ। ती रुखबाट ३०६ थान काठ, २ हजार ४६० दशमलव २३ क्युफिट काठ तथा ५ दशमलव ७५ चट्टा दाउरा सङ्कलन भएको छ।

त्यस्तै, भोजाड–लङ्कालाइन–पदमपुर क्षेत्रमा ३४ वटा रुख हटाइएको छ। उक्त क्षेत्रबाट ३२१ थान काठ, २ हजार १९७ दशमलव ५० क्युफिट काठ र ३ दशमलव १० चट्टा दाउरा व्यवस्थापन गरिएको वन कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी बल आँपटारी परिसरबाट ९ वटा रुख हटाउँदा १४१ थान काठ, १ हजार १३६ दशमलव ४९ क्युफिट काठ र १ दशमलव २५ चट्टा दाउरा सङ्कलन भएको छ।

त्यसैगरी, जोखिमयुक्त डिभिजन वन कार्यालय परिसरबाट २१ वटा रुख हटाइएको छ। ती रुखबाट १६७ थान काठ, १ हजार १४१ दशमलव ०९ क्युफिट काठ र २ चट्टा दाउरा प्राप्त भएको छ।

सडक तथा विद्युत् प्रसारण लाइन आसपासका रुख हटाइयो

रामपुर–चानौली सडकखण्डबाट २६ वटा रुख हटाइएको छ। उक्त क्षेत्रबाट १८० थान काठ, ८१९ दशमलव ४९ क्युफिट काठ र १ दशमलव २५ चट्टा दाउरा व्यवस्थापन गरिएको छ।

मस्र्याङ्दी–करिडोर २२० केभी प्रसारण लाइन क्षेत्रबाट समेत जोखिमयुक्त रुख हटाइएको छ। उक्त क्षेत्रमा १६ वटा रुख व्यवस्थापन गर्दा २३३ थान काठ, १ हजार ४९१ दशमलव ४० क्युफिट काठ र १ दशमलव ७५ चट्टा दाउरा सङ्कलन भएको कार्यालयले जनाएको छ।

अन्य विभिन्न स्थानबाट पनि जोखिमयुक्त रुख हटाइएको छ। कार्यालयका अनुसार जोखिमयुक्त क्याम्पाबाट ४ वटा, ट्राफिक प्रहरी कार्यालयबाट २ वटा, सुगम टोलबाट ३ वटा, लामाटोल–कमिनीघाट–पदमपुर क्षेत्रबाट ८ वटा, नेपाल प्रहरी शिक्षालयबाट २ वटा, राजमार्ग ट्राफिक सुरक्षाका लागि १ वटा र खगेरी नहर क्षेत्रबाट ४ वटा रुख हटाइएको हो।

जनधन तथा पूर्वाधारको सुरक्षामा प्राथमिकता

वन अधिकृत हुमागाईंले जोखिमयुक्त रुखका कारण हुन सक्ने सम्भावित दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्न व्यवस्थापनको काम अघि बढाइएको बताए। विशेषगरी सडकखण्ड, विद्युत् प्रसारण लाइन, सुरक्षा निकायका कार्यालय तथा सर्वसाधारणको आवतजावत हुने स्थानमा ढल्न सक्ने वा अन्य कारणले जोखिममा रहेका रुख पहिचान गरी हटाइएको उनको भनाइ छ।

उनका अनुसार जोखिमयुक्त रुख व्यवस्थापन गर्दा प्राप्त काठ तथा दाउराको समेत व्यवस्थित रूपमा अभिलेख राखिएको छ। हटाइएका रुखबाट प्राप्त काठ तथा दाउरा लिलामीका लागि सूचना प्रकाशित भइसकेको र बोलपत्र आह्वानको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए।

असोजदेखि थप जोखिमयुक्त रुख व्यवस्थापन गरिने

चितवनका अन्य विभिन्न स्थानमा समेत जोखिमयुक्त रुख रहेको र त्यस्ता रुख व्यवस्थापनका लागि कार्यालयमा माग आउने गरेको वन अधिकृत हुमागाईंले बताए।

कार्यालयमा प्राप्त मागका आधारमा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन तथा स्थलगत अध्ययन भइरहेको उनले जानकारी दिए। अध्ययनका क्रममा जोखिमको अवस्था पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेपछि आगामी असोजदेखि थप जोखिमयुक्त रुख कटान तथा व्यवस्थापनको काम अघि बढाइने उनले बताए।

उनका अनुसार जोखिमयुक्त रुख व्यवस्थापन गर्दा वातावरणीय सन्तुलनलाई समेत ध्यानमा राख्दै आवश्यक प्रक्रिया पूरा गरिनेछ। सडक, विद्युत् प्रसारण लाइन, सरकारी तथा सुरक्षा निकायका संरचना र मानव बस्ती आसपास जोखिम सिर्जना गर्ने रुखलाई प्राथमिकताका आधारमा व्यवस्थापन गरिने कार्यालयको योजना छ।

चितवनमा पछिल्लो समय सडक विस्तार, विद्युत् पूर्वाधार तथा सहरीकरणसँगै विभिन्न क्षेत्रमा रहेका पुराना तथा जोखिमयुक्त रुखका कारण सम्भावित दुर्घटनाको जोखिम बढ्दै गएको अवस्थामा वन कार्यालयले जोखिम पहिचान गरी व्यवस्थापनको कामलाई निरन्तरता दिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४