काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रधानसेनापति जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्नुहुने भएको छ। शीतल निवासमा विशेष समारोहका बीच अपराह्न उक्त सम्मान प्रदान गरिने कार्यक्रम तय भएको छ।
जनरल सेठ चारदिने औपचारिक नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका हुन्। उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूले उनलाई स्वागत गरेका थिए।
उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम
नेपाल बसाइँका क्रममा जनरल सेठले प्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका बालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च राजनीतिक तथा सैनिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा नेपाल–भारत सैन्य सम्बन्ध, आपसी सहकार्य, तालिम आदानप्रदान तथा द्विपक्षीय सहयोगका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
१९५० देखि कायम विशेष परम्परा
नेपाल र भारतबीच एकअर्काका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि निरन्तर कायम छ। यस परम्पराअनुसार नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ जनरल तथा भारतीय सेनाका प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिन्छ।
दुवै देशले यस परम्परालाई नेपाल–भारतबीचको ऐतिहासिक सैनिक सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको महत्वपूर्ण प्रतीकका रूपमा लिँदै आएका छन्।
जनरल धीरज सेठलाई प्रदान गरिने मानार्थ दर्ज्यानी चिन्ह पनि यही सात दशकभन्दा लामो परम्पराको निरन्तरताका रूपमा हेरिएको छ।