जनकपुरधाम । गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि प्रदेशका सर्पदंश उपचार केन्द्रमा एन्टी स्नेक भेनमको आपूर्ति सुरु गरिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्पदंशको उपचार हुने अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार औषधि पठाउन थालेको हो।
मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार प्रदेशमा सर्पदंशको उपचार हुने २७ वटै अस्पताल तथा उपचार केन्द्रमा माग र आवश्यकताका आधारमा एन्टी स्नेक भेनम पठाउने व्यवस्था गरिएको छ।
उनका अनुसार सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्कालका लागि क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको छ। अन्य उपचार केन्द्रमा पनि आवश्यकताअनुसार औषधि पठाउन थालिएको उनले बताए।
डा. यादवका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ। थप औषधि समेत आउने प्रक्रियामा रहेको उनले जानकारी दिए।
“सर्पदंशविरुद्धको औषधि कुनै पनि उपचार केन्द्रमा अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको छ,” उनले भने।
गर्मीसँगै सर्पदंशका घटना बढे
पछिल्ला केही दिनयता अत्यधिक गर्मीका कारण रौतहट, बारा, पर्सालगायत मधेस प्रदेशका विभिन्न जिल्लामा सर्पदंशका घटना बढेको पाइएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
ग्रामीण क्षेत्रमा खेतबारी तथा घर वरपर सर्पको गतिविधि बढेसँगै सर्पदंशको जोखिमसमेत बढेको उनले बताए। केही दिनअघिसम्म अस्पतालमा एन्टी स्नेक भेनमको अभाव देखिए पनि हाल १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ।
सर्पले टोके तत्काल अस्पताल जान आग्रह
डा. सिंहले सर्पदंशबाट जोगिन सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उनका अनुसार राति सुत्दा झुल प्रयोग गर्ने, घरवरपरका झाडी तथा फोहोर सफा राख्ने र खेतबारीमा काम गर्दा बुट तथा अन्य सुरक्षात्मक सामग्री प्रयोग गर्नुपर्छ।
सर्पले टोकेमा झारफुक तथा घरेलु उपचारमा समय नबिताई तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न उनले आग्रह गरे।
मधेस प्रदेश सरकारले सर्पदंशलाई मनसुन तथा गर्मीयाममा बढी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा आवश्यक औषधि, स्वास्थ्यकर्मी तथा उपकरणको व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।
प्रदेशका सबै उपचार केन्द्रमा एन्टी स्नेक भेनमको नियमित आपूर्ति सुनिश्चित गर्ने प्रयास भइरहेकाले सर्पदंशका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।