काठमाडौं । लगातारको अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। पानीको सतह बढ्दै गएपछि कोशी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ भने सबै सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार मध्याह्न १२ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ९ हजार ५ सय १० क्युसेक पुगेको छ। बहाव उच्च भएपछि नदीको पानी सुरक्षित रूपमा निकास गर्न ब्यारेजका २८ वटा ढोका खोलिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाल कोशी ब्यारेज क्षेत्रमा खतराको संकेतस्वरूप रातो बत्तीसमेत बालिएको छ। कोशी नदीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि उच्च जोखिमको संकेतका रूपमा रातो बत्ती बाल्ने प्रचलन रहेको छ।
पानीको बहाव अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकायले नदी आसपासका बासिन्दा, माछा मार्ने, डुंगा सञ्चालन गर्ने तथा नदी किनारका गतिविधिमा संलग्न सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
अविरल वर्षाका कारण कोशी नदीको जलसतह निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, स्थानीय प्रशासनका सूचनाको पालना गर्न तथा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्न जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागले पनि देशका विभिन्न स्थानमा अझै वर्षा जारी रहने पूर्वानुमान सार्वजनिक गरेकाले कोशी नदीसहित प्रमुख नदी–नालामा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेको जनाएको छ। त्यसैले तटीय क्षेत्रका स्थानीयवासी, यात्रु तथा सरोकारवाला निकायलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ।