काठमाडौं । सुनसरी र सिरहामा हालै भएका घटनाका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गर्दै जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। सद्भाव र सामाजिक एकताको सन्देशसहित सम्पन्न भएको वृहत् सद्भाव र्यालीपछि स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्।
जनकपुरधाममा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आयोजित सद्भाव र्याली सम्पन्न भएर विसर्जन भएलगत्तै युवाहरूको एक समूहले प्रदर्शन सुरु गरेको थियो। प्रदर्शनकारीहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै समाजमा शान्ति, सुरक्षा तथा साम्प्रदायिक सद्भाव कायम राख्न राज्य अझ जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले हिंसा वा अशान्तिको कुनै पनि घटनालाई सहन नसकिने भन्दै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने धारणा व्यक्त गरेका छन्।
युवाहरूले पीडित परिवारलाई शीघ्र न्याय दिलाउन, घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूको भनाइमा कानुनको निष्पक्ष कार्यान्वयनबाट मात्र नागरिकमा न्यायप्रतिको विश्वास कायम रहन्छ।
प्रदर्शनमा सहभागीहरूले विधिको शासन, सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्व नै लोकतान्त्रिक समाजको आधार भएको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन तथा समस्या समाधानका लागि संवाद र कानुनी प्रक्रियालाई प्राथमिकता दिन आग्रह गरेका छन्।
यसअघि सोही दिन जनकपुरधाममा विभिन्न राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज, सुरक्षा निकाय तथा सर्वसाधारणको सहभागितामा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले वृहत् सद्भाव र्याली आयोजना गरिएको थियो। त्यसपछि भएको विरोध प्रदर्शन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।