काठमाडौं । पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित विभिन्न खाजाघरमा आर्थिक रूपमा विपन्न बालिकालाई प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेहरूमा पोखरा–१८ निवासी ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन्।
प्रहरीले उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।
प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई विभिन्न प्रलोभन देखाएर अनैतिक गतिविधिमा संलग्न गराइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा घटनास्थलबाट एक बालिकाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएकी बालिकालाई आवश्यक संरक्षण, परामर्श तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको प्रहरीले जनाएको छ। साथै, घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा विस्तार गरिएको छ।
प्रहरीले मानव बेचबिखन तथा बालबालिकामाथि हुने कुनै पनि प्रकारका शोषण र हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गरिने जनाएको छ। साथै, यस्ता घटनाबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरिएको छ।