काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ। देशवासीका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुग्नुभएको हो। प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलसँग भएको यो उहाँको पहिलो औपचारिक भेटवार्ता हो।
भेटवार्ताका क्रममा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक तथा सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। विशेषगरी सुनसरीको देवानगञ्ज घटनापछि विकसित परिस्थितिबारे दुवै नेताबीच गम्भीर संवाद भएको बताइएको छ।
प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई देशका विभिन्न स्थानमा शान्ति–सुरक्षा कायम गर्न सरकारले गरिरहेका प्रयास, सुरक्षा निकायको परिचालन तथा सामाजिक सद्भाव कायम राख्न चालिएका कदमबारे जानकारी गराउनुभएको थियो। साथै सुनसरी घटनापछि सरकारले अपनाएको सुरक्षा रणनीति र परिस्थितिलाई सामान्य बनाउन भइरहेका पहलका विषयमा पनि उहाँले राष्ट्रपति समक्ष ब्रिफिङ गर्नुभएको थियो।
भेटका क्रममा राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिलाई संयमता, संवाद र सहकार्यका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक अगुवालगायत सरोकारवाला पक्षलाई साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको बताइएको छ।
राष्ट्रपति पौडेलले मुलुकमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्नु अहिलेको सबैभन्दा महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै कुनै पनि प्रकारको तनाव वा विभाजन बढ्न नदिन सरकार संवेदनशील हुनुपर्ने धारणा राख्नुभएको थियो। उहाँले शान्ति, सुव्यवस्था र नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर आवश्यक कदम चाल्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ।
त्यसैगरी, प्रधानमन्त्री शाहले सरकारले कानुनको शासन कायम राख्दै दोषीलाई कानुनी दायरामा ल्याउने, नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा सामाजिक सद्भाव कायम राख्न आवश्यक सबै पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्रोतले जनाएको छ।
पछिल्ला दिनमा सुनसरी घटनापछि देशका विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाइएका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। भेटवार्तामा मुलुकको वर्तमान अवस्था, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता सुदृढ गर्ने विषयमा साझा समझदारी कायम भएको जनाइएको छ।