काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज (बिहीबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। राजनीतिक दल, जनवर्गीय संगठन तथा विभिन्न सामाजिक संस्थाहरूले उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरेका छन्।
यस अवसरमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले काठमाडौंमा विशेष स्मृति कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पुष्पलालको राजनीतिक योगदान, नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले खेलेको ऐतिहासिक भूमिका तथा समकालीन राजनीतिमा उहाँका विचारको सान्दर्भिकताबारे चर्चा गरिने जनाइएको छ। यस्तै, नेपाल कम्युनिस्ट पार्टीलगायत अन्य वामपन्थी दल तथा संगठनहरूले पनि देशका विभिन्न स्थानमा श्रद्धाञ्जली सभा, विचार गोष्ठी र स्मृति कार्यक्रम आयोजना गर्ने भएका छन्।
वि.सं. १९८१ साल असार १५ गते रामेछापमा पिता भक्तलाल श्रेष्ठ र आमा तुलसीकुमारी श्रेष्ठका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता मानिनुहुन्छ। उहाँ शहीद गंगालाल श्रेष्ठका भाइ पनि हुनुहुन्थ्यो। प्रारम्भिक राजनीतिक जीवनदेखि नै राणा शासनविरुद्ध सक्रिय रहनुभएका पुष्पलालले स्वदेश र प्रवास दुवै स्थानबाट लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनलाई संगठित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
पुष्पलालले विश्वप्रसिद्ध दार्शनिक कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। यस अनुवादले नेपाली समाजमा मार्क्सवादी विचारधाराको अध्ययन र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ। उहाँले नेपाली समाजको वर्गीय संरचना, राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका विषयमा विभिन्न पुस्तक, लेख तथा विश्लेषणात्मक सामग्री पनि लेख्नुभएको थियो।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा २००६ साल वैशाख विशेष महत्व राख्छ। सोही समयमा पुष्पलाल श्रेष्ठले निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गर्नुभएको थियो। यही घटनालाई नेपालमा संगठित कम्युनिस्ट आन्दोलनको औपचारिक सुरुआतका रूपमा लिइन्छ।
नेकपा स्थापना गर्नुअघि पनि उहाँ लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो। १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नुभएको थियो। त्यसबेला उहाँले निरंकुश शासन अन्त्यका लागि सबै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा अघि सार्नुभएको थियो।
विशेषगरी नेपाली कांग्रेसलगायत लोकतान्त्रिक शक्तिहरूसँग संयुक्त जनआन्दोलनमार्फत निरंकुश पञ्चायती व्यवस्थालाई परास्त गर्नुपर्ने उहाँको राजनीतिक दृष्टिकोण तत्कालीन समयका लागि निकै दूरदर्शी मानिएको थियो। कम्युनिस्ट आन्दोलनभित्र एकता, लोकतान्त्रिक अधिकारको संरक्षण र राष्ट्रिय स्वाधीनताको पक्षमा उहाँले निरन्तर आवाज उठाउनुभएको इतिहासमा उल्लेख छ।
दीर्घकालीन स्वास्थ्य समस्याका कारण उपचारका लागि भारत जानुभएका पुष्पलाल श्रेष्ठको वि.सं. २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा निधन भएको थियो। उहाँको निधनसँगै नेपाली कम्युनिस्ट आन्दोलनले एक दूरदर्शी वैचारिक नेता गुमाएको मूल्यांकन गरिन्छ।
पुष्पलाल श्रेष्ठले प्रतिपादन गरेका विचार, कम्युनिस्ट आन्दोलनको संगठन निर्माणमा पुर्याएको योगदान तथा लोकतान्त्रिक राजनीतिक संस्कृतिप्रतिको प्रतिबद्धतालाई आज पनि नेपाली वामपन्थी आन्दोलनको महत्वपूर्ण वैचारिक आधारका रूपमा स्मरण गरिन्छ। उहाँको स्मृति दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देखाएको राष्ट्रिय एकता, सामाजिक न्याय र लोकतान्त्रिक संघर्षको मार्गलाई आत्मसात् गर्नुपर्ने बताएका छन्।