काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। पार्टीभित्रको आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने उद्देश्यसहित साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने घोषणा नेता प्रकाशमान सिंहले गरेका हुन्।
बीपी स्मृति दिवसको अवसरमा बुधबार आयोजित छुट्टै कार्यक्रममा बोल्दै नेता सिंहले भेलाको मिति र स्थान सार्वजनिक गरेका हुन्। उनले राष्ट्रिय भेलामार्फत पार्टी संगठन, आन्तरिक लोकतन्त्र, आगामी राजनीतिक रणनीति तथा समसामयिक राष्ट्रिय विषयमा व्यापक छलफल गरिने जानकारी दिए।
संस्थापन इतर समूहले पछिल्लो समय पार्टीभित्र नीति, संगठन र नेतृत्वको कार्यशैलीबारे निरन्तर आफ्ना धारणा राख्दै आएको छ। सोही क्रममा आयोजना हुन लागेको राष्ट्रिय भेलालाई कांग्रेसभित्रको शक्ति सन्तुलन र भावी राजनीतिक रणनीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
भेलामा देशभरबाट संस्थापन इतर समूहका नेता, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ। भेलाले पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक घटनाक्रमबारे साझा धारणा तय गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।
बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र पार्टीलाई थप एकताबद्ध तथा सशक्त बनाउने विषय पनि भेलाको प्रमुख एजेन्डा रहने बताइएको छ।
पछिल्ला दिनमा नेपाली कांग्रेसभित्र विभिन्न विषयमा मतभेद देखिँदै आएको बेला संस्थापन इतर समूहले राष्ट्रिय भेला घोषणा गरेपछि पार्टीभित्रको आन्तरिक राजनीति थप सक्रिय बन्ने संकेत देखिएको छ। अब साउन २९ मा हुने उक्त भेलाले पार्टीको भावी रणनीति र संगठनात्मक दिशाबारे कस्तो सन्देश दिन्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।